९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेसले भन्योः ‘देशमा सरकार छ’ भन्ने भ्रमको अन्त्य गर्न सरकार आफै उद्यत भयो



काठमाडौं ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना परीक्षण र उपचारको दायित्वबाट पन्छिन गरेको निर्णय अन्यन्तै गैरजिम्मेवार रहेको बताएको छ ।

कांग्रेसले सोमबार प्रेस विज्ञप्ति निकाल्दै कोरोनाले नागरिकको आर्थिक जीवनमा परेको असर दृष्टिगत गरेर सबैको दायित्व सम्हाल्ने कर्तव्य सरकारको भएको जनाएको छ । सङ्क्रामक रोग उपचारको कानुनी व्यवस्थाअनुसार पनि सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने कांग्रेसको भनाइ छ ।

‘सर्वाेच्च अदालतले केही अघि निःशुल्क रुपमा प्रबन्ध मिलाउन दिएको आदेशसम्म सरकारले पालना नगर्नुले नागरिक, मिडिया, प्रतिपक्ष, अदालत कसैको पनि नसुन्ने सरकार कसको सुन्छ ? भन्ने प्रश्न उब्जिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

उपचारको दायित्वबाट पन्छिएपछि त देशमा सरकार छ भन्ने बचेखुचेको भ्रमको अन्त्य गर्न सरकार आफै उद्यत रहेको पुष्टि कांग्रेसले जनाएको छ । साथै सांसद विकास कोष, दशैँ भत्तालगायत खारेज गरेर नागरिकको जीवन जोगाउन लगानी बढाउनु सरकारको कर्तव्य रहेको कांग्रेसको धारणा छ ।

सरकारलाई आफ्नो कर्तव्य आत्मसात गरेर कार्य गर्न चेतावनी दिँदै कांग्रेसले महामारीबाट नागरिकलाई जोगाउन अपिल गरेको छ ।

सरकारले आइतबारदेखि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च असुल्ने निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार आइतबारदेखि सबै सरकारी तथा निजी अस्पतालमा कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिन थालेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७ सोमबार ००:००  २ : १२ बजे