९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएलः सुपर ओभरमा कोलकत्तासंग हैदराबाद पराजित



एजेन्सी ।
कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ ।

अबुधाबी आइतबार भएको खेलमा सनराइजर्स हैदराबादलाई सुपर ओभरमा पराजित गर्दै कोलकत्ताले पाँचौं जित निकालेको हो ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा कोलकत्ताका लक्की फर्गुसनले २ विकेट लिएपछि हैदराबादले मात्र २ रन जोड्यो । ३ रनको लक्ष्य कोलकत्ताले विकेट नगुमाई चौंथो बलमा पुरा गर्यो ।

सुपर ओभर जानुअघि हैदराबादका कप्तान डेभिड वार्नरले अविजित रहदै ४८ रन बनाए । जितका लागि अन्तिम ओभरमा १८ रन आवश्यक हुँदा लगातार ३ चौका प्रहार गर्दै वार्नरले हैदराबादलाई सुपर ओभरसम्म पुर्राएका थिए ।

कोलकत्तासँगको खेलसँगै वार्नरले आईपीएलमा ५ हजार रन समेत पुरा गरेका छन् । वार्नर ५ हजार रन पुरा गर्ने पहिलो विदेशी खेलाडी हुन् ।

वार्नर आईपीएलमा सर्वाधिक रन बनाउने चौंथो खेलाडी समेत हुन् । वार्नर भन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा रहेका छन् ।

यस्तै हैदराबादका लागि जोनी बेयरस्टोले ३६ रन बनाउँदा केन विलियम्सनले २९ रन बनाए । अब्दुल समादले २३ रन जोडे ।

कोलकत्ताका लक्की फर्गुसनले ३ विकेट लिए । पाट कुमिन्स, शिवम माभी र भरुण चक्रवर्तीले १र१ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । कोलकत्ताका लागि शुबमन गिलले सर्वाधिक ३६ रन जोड्दा कप्तान इयान मोर्गनले ३४ रन बनाए ।

यस्तै नितिश रानाले २९ रन बनाउदा राहुल त्रिपाठीले २३ रन जोडे । दिनेश कार्तिक २९ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । बिजय शंकर, बसिल थाम्पी र राशिद खानले १र१ विकेट लिए ।

जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा रहेको छ । हैदराबादको यो छैटौं हार हो । हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ८ : ४१ बजे