काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मुलुकमा चौतर्फी विकास गर्न खोजे पनि कोरोनाले केही समस्या ल्याएको बताएका छन् । हरेक दिन शिलान्यास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश नै विकासको बाटोमा अग्रसर भइरहेको बताएका हुन् ।
आइतबार भर्चुअल रूपमा भएको झापाको दमक अस्पताल भवन शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले विद्यालयदेखि पूर्वपश्चिम रेलमार्गका काम भइरहेको बताए ।
‘चौतर्फी रूपमा विकास गर्न खोजेको कोरोनाले समस्या ल्याएको छ । तर देश नै विकासको बाटोमा अग्रसर भइरहेको छ,’ उनले भने, ‘अनेक ठाउँमा शिलान्यास भइरहेका छन् । विद्यालय, विश्वविद्यालय । बाटा । सरकारी भवन निर्माण भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले रेल ल्याइसकिएको पनि बताए ।
‘नयाँ रेल ल्याइसकियो, छिटै सञ्चालनमा ल्याउँछौं,’ उनले भने, ‘सुरूङ मार्ग काम भइरहेको छ । जलमार्ग, नदीमार्थ र हवाइ मार्गका क्षेत्रमा ठूलो उन्नती भएको छ ।’ प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विभानस्थल तयार भइरहेको पनि बताए ।
‘पूर्वपश्चिम रेलमार्गको तयारी हुँदैछ । पूर्वपश्चिम राजमार्ग विस्तार भइरहेका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका प्रयास भइरहेको छ ।’ उनले सरकारले कुरा मात्रै नभएर काम पनि गरेको बताए ।
‘सरकारले कुरा मात्रै होइन काम पनि गरेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘नकरात्मक प्रवृत्ति सुनेको हुन सक्छ । राम्रा कामबाट आत्तिएकाले त्यस्तो कुरा गरेका हुन सक्छन् । कोरोना धिमा गतिमा झारेपछि त्यस्ता तत्वले भन्ने मौका कम पाएका छन् ।’
सुरूमा कोरोना नियन्त्रण गर्न सकिए पनि पछिल्लो अवस्थामा फैलिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।
प्रतिक्रिया