९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अब गाडी चढ्दा फेस शिल्ड अनिवार्य, पहिलेकै भाडादर लागू हुने



काठमाण्डौ । सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) लगाउन यात्रुलाई आग्रह गरेको छ । कोरोना भाइरसको जोखिमसँगै दशैँमा ओहोरदोहोर गर्नेको सङ्ख्या पनि बढ्ने भएकाले फेस शिल्ड अनिवार्य लगाउन यातायात व्यवस्था विभागले आग्रह गरेको हो ।

विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू हुने उहाँले स्पष्ट पार्नुभयो । दुवै सिटमा यात्रु राख्न पाइने भएकाले पुरानै भाडादर लागू गरिएको विभागका सूचना अधिकारी भुसालले बताउनुभयो ।

यसअघि जे–जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कारबाही हुने उहाँले बताउनुभयो । बढी भाडा लिए यात्रुले ट्राफिक प्रहरीको पैसा नलाग्ने १०३ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । ट्राफिक प्रहरीसँग समन्वय गरेर बढी भाडा लिने, यात्रुलाई ठग्नेलाई कारबाही हुने विभागले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७ आइतबार ००:००  ३ : १५ बजे