दीपा महत, वाणगंगा ।
नारीमाथि हुने विभिन्न प्रकारका हिंसा रोक्न माग गर्दै कपिलवस्तुका युवा शनिबार अपराह्नपख सडकमा उत्रिएका छन् । पछिल्लो समय नारीमाथि बलात्कार, हत्या, एसिड आक्रमण लगाएत जघन्य अपराध बढेको भन्दै दोषीलाई कडा भन्दा कडा सजाएको माग गरेका छन् । वाणगंगा नगरपालिकाको जीतपुर चारनम्बर बजारमा भएको सचेतना मूलक कार्यक्रममा युवाहरु कालोवस्त्रमा उत्रिएका थिए ।
उनीहरुले नारीमाथि बलात्कारजन्य घटना बढेको भन्दै यसप्रकारका घटना रोक्न सरकारलाई दबाब दिएका थिए ।
कार्यक्रममा सहभागी प्रमुख वक्ता तथा नारी अधिकारकर्मी साबित्री सुवेदीले बलात्कारीलाई फासीको सजाए माग गर्नुभयो । सुवेदीले अब पनि जनता चुप रहे भोलिका दिनमा अर्की महिलाको अवस्था पनि निर्मला पन्त र सम्झना बिकको जस्तै हुने ठोकुवा गर्दै बलात्कारीलाई अनिवार्य फासी दिनुपर्नेमा जोड दिनुभयो । सरकारले जनताको यो आवाज नसुन्ने गरेको चर्चा गर्दै दोषीलाई कडा कारवाही गर्नका लागि अब जनस्तरबाटै दबबा सिर्जना गर्नुपर्ने बताउनुभयो ।
कतिपय मानवअधिकारकर्मीले बलात्कारीलाई फासीको सजाय हुन हुँदैन भन्ने गरेको भन्दै बलात्कारीलाई फासीको सजाए नहँुदासम्म यस प्रकारका जघन्य अपराध न्यूनिकरण नहुने ठोकुवा गर्नुभयो ।
सामाजिक अभियान्ता समेत रहनुभएका सुवेदीले हिंसा सहेर नबस्न सबै नारीलाई आग्रह गर्नुभयो । समाजमा पितृसत्तात्मक सोचले जरो गाडेको भन्दै जबसम्म त्यो सोच अन्य हुँदैन तबसम्म महिलाहरु हिंसामा पर्ने बताउनुभयो ।
वाणगंगा नगरपालिका वडा नम्बर १ की वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले नारीमाथि हुने हिंसा रोक्न अब सबै एक जुट हुनुपर्ने समय आएको बताउनुभयो । चारनम्बरमा गरिएको सचेतना कार्यक्रम कसैको सर्पोट वा बिरोधका लागि नभएको भन्दै पीडितको वास्तविक न्यायको दबाबका लागि रहेको उहाँले बताउनुभयो । वडाध्यक्ष अधिकारीले आम नेपाली महिला दिदीबहिनीलाई पनि सचेत रहन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा युवासंगै विभिन्न उमेर समूहका नारी तथा पुरुषको सहभागीता देखिन्थ्यो । कार्यक्रममा सहभागीहरुले ‘नारीको मन छुने गर शरीर हैन, नारीलाई देवीको रुपमा लिने गर स्वार्थको रुपमा हैन, मेरो कपडा छोटो कि तिम्रो सोच ?, नारी राष्ट्रपति तरपनि महिला हिंसा अति, खुलमखुला बलात्कारी बनाउँदै छन् नेता जी, कहिले एसिड कहिले बलात्कार कतिसम्म सहने सरकार’ लगाएत लेखिएको प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।
प्रतिक्रिया