दाङ ।
देउखुरीमा बिहीबार राति कुटपिटबाट युवकको मृत्यु भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीका १८ वर्षीय नरेश चौधरीमाथि कुखुरा चोरेको भन्दै कुटपिट भएको हो ।
छिमेकी ६० वर्षीय खलबहादुर घर्ती र उनका २५ वर्षीय छोरा ओमप्रकाशले कुटपिट गर्दा चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । राति कुखुरा कराएपछि घर्ती परिवारले चौधरीलाई कुखुरा चोर्न लागेको आरोप लगाएको र त्यस क्रममा विवाद हुँदा बाबुछोरा मिलेर लाठीले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते चौधरीको अत्यधिक रक्तस्रावका कारण राति घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका इन्चार्ज प्रहरी निरीक्षक भुवन भट्टले बताए । कुटपिट गर्ने बाबुछोरालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया