९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ओलीलाई क्याबिनेटमा दुईतिहाइ, नेकपाभित्र असन्तुष्टि चुलियो



काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ पुनर्गठन गरेको मन्त्रिपरिषदबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टि देखिएको छ । असन्तुष्टि पनि किन नदेखियोस् ? २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्रीले आफ्नो गुटको उपस्थिति दुई तिहाई पु¥याएका छन् ।

महत्वपूर्ण संवैधानिक तथा राजनीतिक नियुक्ति गर्दा सचिवालयको परामर्शमा लिने स्थायी कमिटी बैठकको निर्णय विपरीत प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेको गुनासो माधन नेपाल पक्षबाट सार्वजनिक भइसकेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा कार्यकारी अध्यक्ष प्रचण्डको समेत सहमति नलिएको पूर्वमाओवादी खेमाको गुनासो छ ।

जबकि नेकपाभित्र लामो समयदेखिको आन्तरिक कलह सुल्झाउने गरी गएको भदौ २६ को स्थायी कमिटी बैठकले मन्त्रिपरिषद् पुनर्गठन मार्फत् शक्ति सन्तुलन मिलाउने आसयसहितको निर्णय गरेको थियो । तर, प्रधानमन्त्री ओलीले बुधबार नियुक्त गरेका तीनैजना मन्त्री आफू निकट छन् ।

नेकपाका तीनै खेमा (ओली, प्रचण्ड र माधव) लाई मिलाउने गरी विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्माको नाम चर्चामा ल्याइए पनि नयाँ मन्त्री भने ओलीनिकट पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठ बनेका छन् ।

योसहित २५ सदस्यीय मन्त्रिपरिषदमा प्रधानमन्त्री ओली निकटका मन्त्री संख्या झण्डै दुईतिहाइ पुगेको छ । बुधबार थपिएका तीनसहित मन्त्रिपरिषदमा ओली निकट १६ जना मन्त्री पुगेका छन् । यो संख्या कुल मन्त्रीहरुको ६४ प्रतिशत हो । विहिबार ती ३ मन्त्रीहरुले सपथ लिइसकेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७ बिहिबार ००:००  ४ : ०५ बजे