९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लेवान्डोस्की चम्किदा पोल्याण्डको सहज जित



एजेन्सी ।

रोबर्ट लेवान्डोस्की चम्किएको खेलमा पोल्याण्डले नेसन्स लिग फुटबलमा सहज जित दर्ता गरेको छ । बुधबार राति भएको खेलमा लेवान्डोस्की प्रेरित पोल्याण्डले बोस्निया हर्जगोभिनालाई ३–० गोल अन्तरले हराएको हो ।

बायर्न म्युनिखका फरवार्डले गोल गर्ने लयलाई राष्ट्रिय टिममा समेत निरन्तरता दिदा पोल्याण्डले सहज जित निकाल्यो । इटाली र नेदरल्याण्ड रहेको समूहमा पोल्याण्ड ७ अंक सहित शीर्ष स्थानमा उक्लियो ।

लेवान्डोस्कीले राष्ट्रिय टिमबाट ६३ गोल पुरा गरे । उनले पछिल्ला ४७ खेलमा ५५ गोल गरेका हुन् । उनले बायर्न म्युनिखबाट पछिल्लो सिजन च्याम्पियन्स लिग सहित, बुन्डेसलिगा र जर्मन कप उचालेका थिए । उनले बायर्नका लागि पछिल्ला ९९ खेलमा सय गोल गरेका छन् । उनले पछिल्ला १० अन्तराष्ट्रिय खेलमा ८ गोल गरेका छन् ।

खेलको सुरुवातमै अनल अहमदजिकले रातो कार्ड खादै मैदान बाहिरिएपछि बोस्निया १० खेलाडीमा सिमित बनेको थियो । लेवान्डोस्कीले ४० औं मिनेटमा पोल्याण्डलाई अघि बढाएका थिए । कारोल लिनिसीले ४५ औं मिनेटमा पोल्याण्डको अग्रता दोब्बर बनाए । लेवान्डोस्कीले ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै पोल्याण्डलाई ३–० को जित दिलाए ।

सोही समूहको अर्को खेलमा इटाली र नेदरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर भान डी विकले २५ औं मिनेटमा नेदरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए । खेलमा अग्रता इटालीले १६ औं मिनेटमा लोरेन्जो पेलेग्रिनीको गोलबाट लिएको थियो ।

समूह ए वानमा इटाली ६ अंक सहित दोस्रो र नेदरल्याण्ड ५ अंक सहित तेस्रो स्थानमा छ । पोल्याण्ड ७ अंक सहित शीर्ष स्थानमा रहदाँ बोस्निया हर्जगोभिना २ अंक सहित तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७ बिहिबार ००:००  ७ : २८ बजे