काठमाडौं ।
नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले बुधबार एक विशेष बुलेटिन निकालेर यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशबाट असोज २५ मा नै बाहिरिएको (बहिर्गमन) भइसकेको भए पनि बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जनाएको छ । नेपालको केही भूभागमा बाँकी भएको मनसुनी प्रणाली कमजोर अवस्थामा रहेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद्को भनाइ छ । गएको वर्ष पनि मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो । यस वर्ष अझै केही दिन ढिलो हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताइएको छ ।
प्रतिक्रिया