९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

इटालीको झल्कोः कोरोनाले एकै घरका तीन जनालाई लग्यो



काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ । इटलीमा जस्तै एउटै परिवारका धेरै सदस्यले कोरोना संक्रमणबाट ज्यान गुमाउन थालेका छन् ।

कोरोना संक्रमणको कारण तनहुँमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । तनहुँको भिमाद नगरपालिका ६ का धर्मकुमार श्रेष्ठ र उनका दुई छोराको एक साताको अन्तरमा संक्रमणबाट मृत्यु भएको हो ।

१८ असोजमा ७१ वर्षका विष्णुकुमार श्रेष्ठ, २४ मा उनका दाजु ७४ वर्षका कृष्णकुमार र २५ असोजमा बाबु ९८ वर्षीय धर्मकुमारको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृतक धर्मकुमारका ज्वाइँ शंकनारायण श्रेष्ठका अनुसार एक जनाको चितवनमा र बाँकी दुई जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो ।

कोरोना संक्रमणको कारण परिवारका अन्य दुई जना सिकिस्त छन् । उनीहरुको काठमाडौंमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

विष्णुकुमारको १८ असोजमा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो भने उनका दाजु कृष्णकुमार र बाबु धर्मकुमारको काठमाडौंमा मृत्यु भएको हो ।

परिवारका जेठा छोरा रामकुमारको हाल ह्याम्स अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । माहिली बुहारी (कृष्णकुमारकी पत्नी) विश्वशान्ति पनि संक्रमित छिन् ।

उनको शुक्रराज ट्रपिकल अस्पतालमा भेन्टीलेटरमा उपचार भइरहेको छ । श्रेष्ठ परिवारका नौ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बाँकी चार जना भने संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०७७ बुधबार ००:००  ८ : ११ बजे