एजेन्सी ।
स्पेन झण्डै दुई वर्षमा पहिलोपटक पराजित भएको छ । नेशन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा स्पेन युक्रेनसँग १–० ले पराजित भएको हो ।
किएभमा भएको खेलमा भ्रमण टोली स्पेनले गोल गर्ने सुन्दर मौकाहरु गुमाउँदै हार बेहोर्न बाध्य भएको हो ।
समूह ए फोरमा रहेको युक्रेनका लागि ७६ औँ मिनेटमा भिक्टर सिगान्कोभले गोल गरी जित निश्चित गरेका हुन् । स्पेनले २१ पटक पोस्ट प्रहार गरे पनि गोल गर्न सकेन ।
पराजित भए पनि चार खेलबाट सात अंकसहित स्पेन समूहको शीर्ष स्थानमा छ । सोही समूह अन्तर्गत भएको अर्को खेलमा जर्मनी र स्वीट्जरल्याण्डले ३–३ को बराबरी खेलेका छन् । ६ अंकसहित जर्मनी समूहको दोस्रो स्थानमा छ । युक्रेनको पनि ६ अंक नै रहेको छ ।
मंगलबार राति भएका अरु खेलमा माल्टाले लात्भियालाई १–०, फारोइ आइल्याण्डले एन्डोरालाई २–० तथा लग्जेम्बर्गले मोन्टेनेग्रोलाई २–१ ले पराजित गरेका छन् ।
यस्तै अजरबैजान र साइप्रस तथा लिचेस्टाइन र सान मारिनोले गोलरहित बराबरी खेलेका छन्।
प्रतिक्रिया