९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएलः चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा, हैदराबाद चौंथो जितको खोजीमा



एजेन्सी ।
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद चौंथो जितको खोजीमा हुनेछ ।

हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ ।

तर, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई हराउँन हैदराबादलाई सहज भने हुने छैन ।

हैदराबादलाई हराएर चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

यस्तै चेन्नई पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ ।

यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।

हैदराबाद भने चेन्नईलाई लगातार दोस्रो भेटमा पराजित गर्न चाहन्छ ।

चेन्नईले हैदराबादविरुद्ध कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छन् ।

हैदराबादसँग वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी रहने छन् ।

प्रकाशित मिति : २७ आश्विन २०७७ मंगलबार ००:००  २ : ०५ बजे