९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अर्घाखाँचीमा थप १८ जनामा कोरोना, संक्रमित स्वास्थ्यकर्मीदेखि ठूला नेतासम्म



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीका विभिन्न अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीसहित स्थानीय नेपाली कांग्रेसका नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा भएको बिपत व्यवस्थापनमा खटिएका स्थानीय नेता कार्यकर्ता र कर्मचारीमा कोरोना संक्रमण भएको हो ।

राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का र प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेलसहित नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव छविलाल पौडेल, महाधिवेशन प्रतिनिधि तथा संगठन विभाग प्रमुख कृष्णप्रसाद खनाल, जिल्ला सदस्य सीता भुसाल, कला तथा सांस्कृतिक विभाग प्रमुख मणिराम परियार, नेपाली कांग्रेस शीतगंगा नगरपालिकाका सभापति मोतीबहादुर बेल्बासे लगायत स्थानीय नेताहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शीतगंगा नगरपालिकामा असोज ९ गते गएको पहिरोमा राहत तथा पुनःस्थापनामा खटिएकाहरुमा कोरोना संक्रमण देखिएको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णुप्रसाद खनाल मुस्कानले जानकारी दिए । जिल्लाका विभिन्न पालीकाका वडा अध्यक्षहरू, स्थानीय व्यापारीहरूमा पनि कोरोना देखिएको छ ।

सुरक्षा निकायका प्रमुख, रेडक्रस सभापति कुसल भुसाल, अर्घाखाँची अस्पतालका चिकित्सकसहितका सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण भएको छ ।

अर्घाखाँचीमा समुदायस्तरमा बढी घुलमेल गर्नेहरु नै कोरोना संक्रमित भएका छन् । जिल्लामा कुल संक्रमित ५ सय ९ मध्ये हालसम्म कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४ सय ९ रहेको छ ।

मंगलबार बिहानसम्म सक्रिय संक्रमितको संख्या जिल्लामा एक सय जना रहेका छन् । कोरोनाका कारण जिल्लाका ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७ मंगलबार ००:००  १२ : ५९ बजे