९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु प्रशासनले लगायो सार्वजनिक स्थलमा दुर्गाको मूर्ति राख्न रोक



मायादेवी अनलाइन, चार नम्बर ।
विभिन्न समुदायका चाडपर्व नजिकिन थालेपछि स्थानीय प्रशासनले कोरोना महामारीको संक्रमण हुने बताउदै सतर्कता अपनाएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोभिड-१९ संक्रमणको उच्च जोखिममा रहेको तथा संक्रमणको तीब्र विस्तार भइरहेको बताउदै चाडपर्वमा भिडभाड हुने कुनै पनि कार्य नगर्ने निर्णय गरेको छ ।

विभिन्न समुदायका चाडपर्वहरु दशै, तिहार र छठ पर्वहरु मनाउदा सवै जातजाति र धर्मावलम्बीहरुले बाजागाजा नबजाउने, भिडभाड नगर्ने, कुनैपनि किसिमको मूर्ति नबनाउने तथा विसर्जन नगर्ने भनी सर्वपक्षीय निर्णय गरिएको हो ।

कोरोना महामारीको संक्रमण बृद्धि हुदै गएपछि चाडपर्वका भेला सार्वजनिक स्थलमा हुने जमघटले कोरोनाको थप संक्रमण हुन नदिन र शान्ति सुरक्षा कायम राख्न उक्त निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

उहाँले महामारीका बेला जिल्लावासीलाई संयम र सचेत भई आफनो स्वास्थ्यको ख्याल राख्न पनि अपिल गर्नुभएको छ ।

महामारीबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने हामी सवैको दायित्व भन्दै, प्रजिअ पौडेलले सवै राजनीतिक दल, स्थानीय तह तथा संघसंस्था, संचारमाध्यमलाई लाई सजगता अपनाउदै भिडभाड हुने र संक्रमण रोकथाममा सहयोग गर्न समेत अनुरोध गर्नुभएको छ ।

चाडपर्वका बेला कपिलवस्तुमा विभिन्न सार्वजनिक स्थलमा मूर्ति बनाउने र विसर्जन गर्ने क्रममा विगतमा जस्तो विवाद उत्पन्न भई शान्ति सुरक्षा समेत विग्रिने भएकाले यसप्रति समयमै सचेत हुनु परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७ सोमबार ००:००  ८ : ४७ बजे