९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुका भिआइपीबाट ओदारी कभर्डहलको उद्घाटन, ब्याडमिन्टन पनि खेले




मायादेवी अनलाइन, चार नम्बर ।

बाणगंगा नगरपालिकाकै पहिलो ओदारी कभर्ड हलको उद्घाटन भएको छ । शनिबार कपिलवस्तुका भिआइपीहरु (पूर्वमन्त्री, सांसद, पूर्व राजदूत) को संलग्नतामा वडा नम्बर ११ ओदरीमा कभर्ड हलको उद्घाटन भएको हो ।

कोरोनाको बीचमा पनि धमाधम निर्माण सकेर बिभिन्न प्रतियोगिताहरु भए पनि उद्घाटनको साइत जुरेको थिएन । यद्यपी उद्घाटनमा शनिबार विहान जिल्लाका पूर्व कृषि मन्त्री तथा प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रदेश ५ का सांसद विष्णु पन्थी, नेपालका लागि पूर्व भारतीय भारतीय राजदूत दीप कुमार उपाध्याय लगायत सहभागी थिए ।

उहाँहरुले संयुक्त रुपमा रिवन काटेर कभर्ड हलको उद्घाटन गरेका थिए । त्यसपछि उहाँहरु एकैछिन ब्याडमिन्टन पनि खेल्नु भएको थियो । पूर्व राजदूत उपाध्यायको खेलले भने सबैलाई आश्चर्यमा पारेको थियो । उपाध्यायको खेल कौशल र फुर्ति देखेर दर्शक सबै दंग भए । पूर्व मन्त्री खनाल, राष्ट्रिय सभा सदस्य घिमिरे र सांसद विष्णु पन्थीले पनि जानी नजानी ब्याडमिन्टन खेल्नु भयो ।


उद्घाटनमा नगरपालिकाबाट नगरप्रमुख मंगल प्रसाद थारु, उप-प्रमुख चक्रपाणीय अर्याल र वडाध्यक्षहरु पनि उद्घाटनमा सहभागी थिए । उद्घाटनमा बोल्ने सबैले ओदारी कभर्ड हल जिल्लाकै नमुना बनेको बताए । कोरोना महामारीमा पनि स्थानीय युवाले समयअगावै निर्माण सम्पन्न गरेर राज्यलाई नै पाठ सिकाएको बताएका थिए ।

कपिलवस्तुका संघीय बलदेवको १० लाख, प्रदेश ५ सामाजिक विकास मन्त्रालयको १५ लाख, बाणगंगा नगरपालिकाको १५ लाख, ११ नम्बर वडा कार्यालयको ८ लाख र अन्य स्थानीय युवा र उद्योगीको आफ्नै पहलमा गरी ५५ लाखमा कभर्ड हलको निर्माण भएको हो । कभर्ड हल निर्माण समितिका संयोजक तथा ओदारी ब्याडमिन्टन क्लवका अध्यक्ष मनोहर कुमार योगीले सहयोगी सबैलाई धन्यबाद दिँदै अझै पनि आफूहरु घाटामा रहेको सुनाउनु भयो ।

कभर्ड हल र सामुदायिक भवनलाई अझै राम्रो बनाउन थप बजेट आवश्यक परेकाले सबैबाट सहयोग हुने विश्वास ब्यक्त गर्नु भयो । वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले कभर्ड हलसंगै प्रथम वडाध्यक्ष कप नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको बताउनु भयो ।

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ९ : २२ बजे