९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ठट्टा गर्दै बलदेवले भने ‘कर्मचारीले ३० बर्षसम्म बजेट फ्रिज गर्न सिकेछन्’



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले ३० बर्षसम्म कर्मचारीले बजेट फ्रिज गर्न सिकेको आरोप लगाउनु भएकको छ । पूर्वमन्त्री बलदेवले कर्मचारीको पुरातन र जायज योजनाका फाइलहरुलाई अड्काउने लगायतका शैलीका कारण मुलुकुमा विकासको बजेट खर्च हुन नसकेको बताउनु भएको हो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीस्थित कभर्ड हलको उद्घाटन गर्दै बलदेवले यसको उदाहरण टाढा नभएर कपिलवस्तुमै भएको बताउनु भयो ।

जिल्लामा बाणगंगा नगरपालिकाबाहेक लगभग अरु सबै पालिकामा कर्मचारीकै कारण खर्च हुनुपर्ने बजेट पनि खर्च हुन नसकेको उहाँको भनाई छ । बलदेवले ठट्यौली शैलीमा भन्नुभयो, मायादेवी, शुद्धोधन, कपिलवस्तु लगायतका पालिकाका कर्मचारीले ३० बर्षसम्म के सिकेछन् भन्नुहुन्छ भने बजेट फ्रिज गर्न सिकेछन् । यस्ता कर्मचारीबाट कसरी विकासको काम हुन्छ ?

‘संघबाट आएको पैसा खर्च गर भनेर दिएँ तर योजना नै स्विकृत भएनछन् । सम्झौता भएका काम पनि भएनछन् । त्यसपछि त्यो पैसा कारोना कोषमा जम्मा गर्नु पर्ने बाध्यता भयो, उहाँको भनाई छ ।’ कर्मचारीको काम गर्ने शैली प्रति रुष्ट देखिनुभएका बलदेवले “कुन पालिकालाई कति कुनलाई कति लाख दिइएको थियो । कुनैमा काम भएनछ, बुझ्दा सबै कर्मचारीले विगारेछन्, त्यसको सट्टा यही ओदारी कभर्डहलमा ५० लाख हालेको भए कमसेकम खर्च त हुन्थ्यो” भन्नुभयो ।

उहाँले जनप्रतिनिधिले पनि यस्ता कर्मचारीलाई समयमै चिन्नु पर्ने जरुरी रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्ने वक्ताले ओदारीका युवाले कोरोनाको बीचमा पनि समयभन्दा अघि नै कभर्ड हल निर्माण गरेर देखाएको भन्दै प्रसंसा गरिरहेका थिए । यो सुनेर बस्नु भएका बलदेवले त्यसै प्रसंगमा यस्तो बताउनु भएको हो । कपिलवस्तुका संघीय सांसदसमेत रहनु भएका बलदेवले पहिले बजेट चाहियो भन्नेले अहिले मुद्धा मिलाइदिनु पर्यो भनेर कान खाएको सुनाउनु भयो । कपिलवस्तुका जनताले पहिले बजेट र विकास माग्थे अहिले भने सानाठुला जस्तासुकै मुद्धा मामिला मिलाइदिन पर्यो भन्छन् । तर मैले नाजायज मुद्धा मामिला मिलाउने गरेको छैन, उहाँको भनाई छ ।

बलदेवले खेलकुदको विकासविना मुलुकको विकास हुन नसक्ने बताउनु भयो । कपिलवस्तुको विकास गर्ने हो अब राष्ट्रिय लेभलका रंगशाला बनाउनु पर्ने उहाँको धारणा छ । बाणगंगाको हकमा उहाँले राजापानीमा बहुआयामिक रंगशाला बनाउन जरुरी रहेको पनि बताउनु भयो । यसको लागि पालिकाले १ बर्षकै बजेट त्यसमा खर्च गर्न सक्नु पर्नेमा जोड दिनुभयो ।

फरक प्रसंगमा उहाँले कपिलवस्तु लुम्बिनी प्रदेशको राजधानी बनाउन आफूले अन्तिमसम्म लविङ गरिरहेको स्पष्ट पार्दै भालुवाङ पनि ठिकै भएको बताउनु भयो । ‘भालुवाङ र बुटवलको विरोध गरेको होइन, कपिलवस्तु राजधानी हुनुपर्दछ भन्ने हो तर भएन । हामीले लविङ मात्र गर्न सक्थ्यौँ । अरु निर्णय गर्ने अधिकार हामसिंग थिएन । प्रदेश सभाले जे निर्णय गर्यो, ठिकै छ ’ उहाँले थप्नु भयो ।

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ८ : २९ बजे