९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

आईपीएलमा बैङलोर र कोलकाताको जित, कोहली शतकबाट चुके



एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौंथो जित निकालेको छ । गय राति साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बैंगलोरले चौंथो जित निकालेको हो ।

बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट लिए । वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे । जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ ।

यस्तै हिजो नै भएको पहिलो खेलमा क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले चौंथो जित निकालेको छ । किङ्स इलाभेन पन्जाबलाई २ रनले पराजित गर्दै कोलकत्ताले रोमाञ्चक चौंथो जित निकालेको हो ।कोलकत्ताले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १४ रन आवश्यक थियो । तर, पन्जाबले अन्तिम ओभरमा थप एक विकेट गुमाएर मात्र ११ रन बनाउन सक्यो ।कोलकत्ताका प्रशिद्द कृष्णले ३ विकेट लिए ।

सुनिल नारिनको नाममा दुई विकेट रह्यो ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । जितसँगै कोलकत्ता तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ६ खेलमा ८ अंक जोडेको छ । पन्जाबको भने यो छैटौं हार हो । ७ खेलमा १ जितसहित २ अंक जोडेको पन्जाब पुछारमा रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७ आइतबार ००:००  ६ : ०५ बजे