९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मेस्सी र सुआरेजले रोनाल्डोसंगको कीर्तिमान बराबरी गरे



एजेन्सी ।
लियोनल मेस्सी र लुइस सुआरेजले ब्राजिली लिजेण्ड रोनाल्डोको कीर्तिमान बराबरी गरेका छन् ।

दक्षिण अमेरिकी देशबाट विश्वकपका छनोटमा रोनाल्डोको सर्वाधिक गोलको कीर्तिमान मेस्सी र सुआरेजले बराबरी गरेका हुन् ।

दक्षिण अमेरिकी तीनै जना खेलाडीले राष्ट्रिय टिमबाट छनोट प्रतियोगितामा ३९ गोल पुरा गरेका छन् ।

पछिल्लो खेलमा चीलिविरुद्ध प्राप्त जितमा सुआरेजले पहिलो हाफमा पेनाल्टीमा गोल गरेका थिए । बार्सिलोनाका कप्तान मेस्सीले इक्वेडरविरुद्ध प्राप्त १–० को संघर्षपूर्ण जितमा पनि पेनाल्टीमै गोल गरेका थिए ।

समग्रमा मेस्सीले रोनाल्डो र सुआरेज भन्दा अन्तराष्ट्रिय फुटबलमा धेरै गोल गरेका छन् । अर्जेन्टिनी कप्तानले सिनियर टिमबाट अन्तराष्ट्रिय फुटबलमा ७१ गोल गरेका छन् ।

बिहिबार राति मेस्सीले इक्वेडरको कडा चुनौतीको सामना गर्नुपर्यो । उनले इक्वेडरको पेनाल्टी बक्समा मात्र एक पटक बल छुने अवसर पाएका थिए ।

त्यही पेनाल्टी अवसरलाई गोलमा परिणत गर्दै उनले १३ औं मिनेटमा अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ३३ वर्षिया मेस्सीले दुई सुन्दर अवसर सिर्जना गरेका थिए ।

सुआरेजले समेत विवादास्पद खेलमा पेनाल्टीमा गोल गरे । बार्सिलोनाका पूर्व फरवार्ड सुआरेज अहिले अर्को ला लिगा क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७ शनिबार ००:००  ६ : १५ बजे