९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

झण्डै डेढ लाख मूल्य बराबरका म्याद नाघेका सामान नष्ट



मायादेवी अनलाइन, चार नम्बर ।
बजार अनुगमनका क्रममा कपिलवस्तुको वाणगंगा नगरपालिकाका क्षेत्रमा भेटिएका सामान बरामद गरि नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय वाणगंगाको अगुवाईमा बुधबार साँझ भएको बजार अनुमगनका क्रममा ओदारी–घरबुदियामा भेटिएका म्याद नाघेका सामान नष्ट गरिएको हो ।

गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा अनुगमनका क्रममा भेटिएका डेढ लाख मूल्य बराबरका सामान वाणगंगा नगरको डम्पिङ साइटमा आगो लगाएर नष्ट गरिएको इलाका प्रशासन कार्यालय वाणगंगाका प्रमुख विष्णु प्रसाद ज्ञवालीले बताउनुभयो ।

बुधबार साँझ अनुगमन गर्नेक्रममा म्याद गुज्रेका सामान भेटिएका थिए । अनुगमन टोलीले चियापत्ती, मिठाई, साबुन र विभिन्न कस्मेटिक गरी ६५ प्रकारका सामान म्याद नाघेका भेटाएको थियो । धैरै परिणाममा ती सामान भेटिएपछि स्थानीय प्रशासनले एक रात पसललाई सिल गरेको थियो ।

विहीबार पसल भित्र राखिएका म्याद गुज्रेका सामान निकालेपछि शुक्रबार दिउँसो जलाएर नष्ट गरिएको हो ।

भित्री गाउँमा रहेको गुप्ता जनरल खाद्यान्न स्टोर्समा पहिलो पटक अनुगमन टोली पुगेको कारण एक पटकका लागि पसल सिल बाहेक अरु कारबाही नगरिएको प्रशासनले जनाएको छ । अब आइन्दा म्याद नाघेका सामान नराख्ने सर्तमा एक पटकका लागि जरिवाना तिर्नबाट छुट दिएको प्रशासन कार्यालयका प्रमुख ज्ञवालीले मायादेवी अनलाइनलाई बताउनुभयो ।

व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा गुप्ता खाद्यान्न तथा जनरल स्टोर्समा अनुगमन गरिएको र अनुमगन पश्चात पसल सिल गरेर कारबाही गरिएको ज्ञवालीले बताउनुभयो । यद्यपि अरु जरिवान भने नलाइएको उहाँले बताउनुभयो ।

यता पसलका मालिक श्याम कुमार गुप्ताले लामो समयको लकडाउनका कारण म्याद नाघेका सामान पसलमा भेटिएको बताउनुभयो । कम्पनीलाई म्याद सकिएका सामान लिएर जान पटक पटक भने पनि लकडाउनले गर्दा नआउँदा पसलमा उक्त सामान भेटिएको गुप्ताले बताउनुभयो । पसलमा म्याद नाघेका सामान भेटिएपनि उपभोक्तालाई विक्री भने नगरेको उहाँले दाबी गर्नुभयो ।

प्रकाशित मिति : २३ आश्विन २०७७ शुक्रबार ००:००  ८ : २३ बजे