९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शितगंगा पहिरो पीडितको लागि ‘एकिकृत नमुना वस्ती’ बनाउन बन्यो पहल समिति



मायादेवी अनलाइन, चार नम्बर ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १२ मा पहिरो गएर विस्थापित हुनेहरुको लागि एकिकृत वस्ती बनाउन पहल समिति निर्माण भएको छ ।

पहिरो गएर वडा नम्बर १२ का जोख्लेगैरा, कोठिया, मैदाना लगायतका गाउँका ६४ घरपरिवार नै विस्थापित भएपछि उनीहरुको पुर्नस्थापनाको लागि एकिकृत वस्ती निर्माण गर्न पहल समिति बनेको हो ।

अर्घाखाँचीका पत्रकार एवम् अधिवक्ता तेजेन्द्र पाण्डेको संयोजकत्वमा प्रारम्भमा ६२ सदस्यीय टोली बनेको छ । जसमा सामाजिक अभियान्ता, भुगर्भविद्, इन्जिनियर, कानुनविद, पत्रकार, निर्माण ब्यवसायी, कलाकार, उद्योगी व्यवसायी, देश तथा विदेशमा रहेर सामाजिक कार्य गरिरहनु भएका व्यक्तिहरु समेटिनु भएको पहल समितिका संयोजक तेजेन्द्र पाण्डेले जानकारी दिनुभयो । सो पहल समितिको सल्लाहाकारमा माझी वस्ती निर्माण गरी उदाहरणीय काम गरी सकेको श्वेताश्री फाउण्डेसन रहेको छ ।

यो समितिले अब एकिकृत वस्ती निर्माणको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारसंग जग्गाको लागि पहल गर्ने र मास्टर प्लान बनाएर छिटै काम सुरु गर्ने उहाँले बताउनु भयो । पहिरो गएको स्थानमा अब बस्नै सक्ने अवस्था नभएकाले अर्घाखाँची या शितगंगा आसपासमा नै जग्गा ब्यवस्थापनको लागि सरकार, राजनैतिक दल र सरोकारवालालाई पहिले अनुरोध गर्ने र त्यस्तो स्थिति नआए पहल समितिकै अगुवाइमा जग्गा ब्यवस्थापन गरेर एकिकृत वस्ती बनाएरै छोड्ने अभियान्ता पाण्डेको प्रतिवद्धता छ ।

अभिनेत्री तथा श्वेताश्री फाउण्डेसनकी प्रमुख श्वेता खड्कासंग पनि यस विषयमा कुराकानी भइसकेको भन्दै वस्ती निर्माणमा उहाँको सहयोग हुने पाण्डेले जानकारी दिनुभयो । शितगंगा पहिरोको विषयमा देशविदेश जानकारी गराउँदा सबैबाट एकिकृत वस्ती निर्माण विना उनीहरुको पुर्नस्थापना हुन नसक्ने सबैतिरबाट सुझाव आएकाले यो अभियानको थालनी गरिएको समितिका सदस्य तथा पत्रकार चन्द्रकान्त न्यौपानेले बताउनु भयो ।

वस्ती सार्न उपयुक्त हुने स्थानमा अब यस समितिले भुगर्भविद्को संलग्नतामा जग्गा पहिचान गर्ने र लगत्तै निर्माण कार्य थाल्ने न्यौपानेले मायादेवी अनलाइनलाई जानकारी दिनु भयो ।
अब बन्ने वस्ती नमुना बन्ने छ । भुकम्परहित घरहरु निर्माण गरी खानेपानी, बाटोघाटो, विजुली आदिको राम्रो व्यवस्था हुने पहल समितिका सदस्य तथा सिभिल इन्जिनियर अनिल रिजालले बताउनु भयो ।

अभियान्ताहरुका अनुसार यो एकिकृत वस्ती निर्माण गर्न करिब ३ करोड लाग्ने अनुमान गरिएको छ । देशविदेशमा रहेका सामाजिक अभियान्ता तथा सहयोगी मनहरुले सहयोग गर्ने समिति सदस्य तथा नायक शितल केसीले बताउनु भयो ।

अभियान्ता तथा समिति सदस्य डाक्टर निकोलस भुसालले पहिरो पीडितलाई सामान्य जनजीवनमा ल्याउन अब एकिकृत वस्ती निर्माणको विकल्प नभएको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘बषौँसम्म संगै बसेका परिवार विस्थापित भएका छन् । जग्गा जमिन केही छैन । उहाँहरुलाई छुट्टाछुट्टै राख्दा पनि सामाजिक एकता भाँडिन्छ, त्यहाँको संस्कृति र सामाजिक एकतालाई एकै सुत्रमा बाँड्न पनि एकिकृत वस्ती बनाउनुको वि कल्प छैन ।’

गत असोज ९ गते वडा नम्रब १२ मा पहिरो गएपछि तिनचार गाउँका करिब ६० परिवार विस्थापित छन् । बस्ने थातथलो गुमेपछि उनीहरु अहिले पाल टांगेर आकाशमुनी बस्न बाध्य छन् । पुरानै ठाउँमा बस्न सक्ने स्थिति नभएपछि अहिले बालबालिका, वृद्धवृद्धा आदिको विचल्ली छ । उनीहरुले चाँडो आफूहरुलाई सुरक्षित स्थानमा लगेर राख्न विन्ती गरिरहेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०७७ शुक्रबार ००:००  ७ : ३७ बजे