काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शुक्रबार भेट गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रावीच दुई देशबीचको हवाई, पर्यटन तथा संस्कृतिबारे कुराकानी भएको थियो ।
भेटका क्रममा हवाई क्षेत्रबारे कुरा भएको छ। गौतम बुद्ध विमानस्थल निर्माण पूरा हुन लागेको अवस्थामा दुईजनाबीच उडान प्रवेश अनुमतिबारे पनि कुरा भएको छ। ‘भैरहवा नाकाबाट उडान प्रवेश अनुमतिबारेमा कुरा भएको छ’, भट्टराईको सचिवालयले भनेको छ, ‘नेपालगञ्ज र महेन्द्रनगर नाकाबाट पनि उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउनेबारे कुरा भएको छ।’
कोभिड–१९ का कारण वन्द रहेको काठमाडौ र भारतका विभिन्न शहरहरुबीचको उडान चाँडै सुचारु गर्ने बारेमा पनि उनीहरुबीच कुराकानी भएको थियो। त्यस्तै सांस्कृतिक क्षेत्रमा पनि कुरा भएको छ। पशुपति, लुम्बिनी, जनकपुरलाई विशेष धार्मिक तथा सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्नेबारे पनि छलफल भएको थियो।
त्यस भेटमा मन्त्री भट्टराई र राजदूत क्वात्रा दुवैले रामायण सर्किटको अवधारणालाई छिट्टै कार्यान्वयनमा ल्याउन दुवै देश सकरात्मक रहेको प्रतिवद्धता जनाएका थिए। भेटमा मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन, तथ नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्।
राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रलाई थप विकास गर्न भारत सरकार सकारात्मक रहेको जनाउँदै कोभिड–१९ का कारण प्रभावित बनेको पर्यटन क्षेत्रलाई उकास्न भारत सरकारले उल्लेख्य सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए।
प्रतिक्रिया