९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

देउखुरीमा जग्गा किनबेच तथा कित्ताकाट रोक्नुस्ः मुख्यमन्त्री



दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिनुभएको छ । प्रदेशको राजधानी र नामाकरणपछि बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले त्यस क्षेत्रमा गुरुयोजनाको टुङ्गो नलाग्दासम्म नयाँ घर पनि बन्न रोक्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले यसअघि दाङको राप्ती, गढवा गाउँपालिकाको वडा नं १,२ र ३ तथा अर्घाखाँचीको शितगंगा नगरपालिकाको वडा नं ८ र ९ मा जग्गाको किनबेच र कित्ताकाटमा रोक लगाइसकेको छ । गैरकानुनी रुपमा किनबेच हुन सक्ने भएकाले रोक्न सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउन उहाँले निर्देशन दिनुभयो ।

राप्ती उपत्यकाको राप्ती , गढवा गाउँपालिका र शीतगंगाको मैदानी भागमा गुरुयोजना बनाएर प्रदेशको सुन्दर राजधानी बनाउने गरी अघि बढेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । राप्ती उपत्यका भन्नाले दाङको राप्ती, गढवा गाउँपालिकाको वडा १,२ र ३ तथा अर्घाखाँचीको शितगंगाको वडा नं ८ र ९ को राप्ती किनारको मैदानी भाग भएकाले कोही भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो । राजपत्रमा राप्ती उपत्यका भन्ने प्रष्ट रहेको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले गुरुयोजना बनेपछि पहिलो प्राथमिकता प्रशासनिक संरचनाको उपस्थिति रहने र अरु क्रमशः बनाइँदै जाने जानकारी दिनुभयो । उहाँले नक्साको डिजाइन, गुरुयोजना र ल्याण्डपुलिङ जस्ता काम क्रमशः अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ुअहिलेलाई हेरेर होइन, ५० वर्षपछि सम्म पनि व्यवस्थित शहर रहने गरी योजना गर्छौँ, योजनाका माध्यमबाट मान्छेको सोच बदल्छौँ ।ु

राजधानी र नामको टुङ्गो सही ढङ्गले लगाएर सङ्घीयताको वास्तविक कार्यान्वयन गर्न प्रदेश सफल भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २२ आश्विन २०७७ बिहिबार ००:००  ७ : ४६ बजे