८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तु आएर नेकपा नेतृ झाँक्रीले भनिन् ‘समयमै महाधिवेशन हुँदैन’



मायादेवी अनलाइन, चार नम्बर ।

नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले नेतृत्वको कारणले पार्टीमा निरासा छाएको भन्दै तीव्र आक्रोश व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य समेत रहनु भएकी झाँक्रीले पछिल्लो समय सत्ता र पार्टी संचालनको शैलीलाई लिएर आक्रोश व्यक्त गर्नु भएको हो । काम विशेषले आफन्त भेट्न कपिलवस्तु आउनु भएकी झाँक्रीले ४ नम्बरमा युवा कार्यकर्तासंग भेटघाटका क्रममा यस्तै चालले नेकपाको लक्ष्य र उद्देश्य पुरा नहुने बताउनु भयो ।

उहाँले पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण इतिहासकै गम्भिर संकटमा नेकपा परेका कारण युवाहरुले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताउनु भयो । पार्टीबाट मन्त्री भएकाहरुले केही काम गर्न नसकेको, बिभिन्न काण्डमा नेता र मन्त्री फसेको, कर्मचारी एवम् बिभिन्न नियुक्तिमा कमजोरी भएको भन्दै पार्टी नेतृत्वको खुलेर आलोचना गर्नुभयो । सरकार संचालनको शैली पनि ठिक नभएको भन्दै नेकपाले ठुलो मुलय चुकाएको उहाँले दाबी गर्नुभयो ।

करिब २० मिनेट भएको छोटो भेटघाटका क्रममा उहाँले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको कामले पार्टीको शिर झुकेको समेत बनाउनु भयो । यसमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले पनि गम्भिर गल्ती गरेको उहाँको भनाई छ । हिजो पार्टीका नेता र कार्यकर्ताबीच भएको सहमति उल्टाएर बामदेवको पक्षमा निर्णय गरेर दाहाल र नेपालले ठुलो कमजोरी गरेको भनी आक्रोश पोख्नु भयो ।

अर्को प्रसंगमा नेतृ झाँक्रीले समयमै महाधिवेशन नहुने जिकिर समेत गर्नु भएको छ । महाधिवेशनको विषयमा पत्रकारले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो–‘चैत्रमा महाधिवेशन गर्ने निर्णय त भएको छ तर महाधिवेशन गर्नेमा कुनै तयारी छैन । यस्तो अवस्थामा महाधिवेशन कसरी हुन्छ । नेतृत्वप्रति कार्यकर्तामा ठुलो निरासा छ ।’

झाँक्रीले अब पार्टीलाई संगठित बनाउन सचिवालयमा रहेको ९ सदस्यीय कार्यदल नै भंग गर्नुपर्ने बताउनु भयो । अब ९ । १० जनाले पार्टी चल्दैन । यी ९ । १० जनालाई कार्यकर्ताले पनि विश्वास गर्न छोडी सके । पार्टी चलाउन अब विकल्प खोज्नुको विकल्प छैन, पार्टीको तल्लो तहबाट सबैले खबरदारी गर्न जरुरी छ, उहाँले भन्नुभयो ।

प्रदेश ५ को राजधानीको विषयमा भने उहाँले दाङको पक्षमा बोल्नु भएको छ । मेरो पहिलेदेखिको चाहना बुटवल नभएर दाङको घोराही होस् भन्ने नै थियो तर स्थान भालुबाङ अलि उपयुक्त भएन कि भन्दै आफ्नो राय राख्नु भयो । भालुवाङ भए पनि यो विषयमा प्रदेश सरकारले गरेको निर्णय ठिक भएको उहाँको भनाई छ ।

भेटघाटमा अनेरास्ववियूका पूर्व केन्द्रिय सदस्य कमल भट्टराई, पूर्व जिल्ला अध्यक्ष शुशिल पौडेल, अनेरास्ववियूका पूर्व जिल्ला कमिटि सदस्य हरि अधिकारी, नेताहरु शिव वञ्जाडे, दीपक अनुरागी, रविन्द्र पौडेल, विनोद मरासिनी, असिम क्षेत्री लगायतका दर्जन बढी नेताहरु सहभागि थियो । उनीहरुले पार्टीका समसामयिक घटनाक्रमका विषयमा जिज्ञासा राखेका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ७ : १२ बजे