८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कांग्रेस कपिलवस्तुले भन्योः प्रदेशको राजधानी कपिलवस्तु हुनुपर्छ



मायादेवी अनलाइन, तौलिहवा ।
नेपाली कांग्रेस कपिलवस्तुले प्रदेशको राजधानी कपिलवस्तु जिल्लामा हुनपर्ने जनाएको छ । पार्टी सभापति सुरेन्द्रराज आचार्यले प्रदेश ५ को स्थायी राजधानी कपिलवस्तु बनाउनुपर्ने जनाएका हुन् ।

शुक्रबार प्रदेश सरकारले दाङ्ग जिल्लाको भालुवाङ्ग क्षेत्रलाई राजधानी प्रस्ताव गरेको विषयमा नेपाली कांग्रेस कपिलवस्तुले असहमति जनाएको छ ।

पार्टी सभापति सुरेन्द्रराज आचार्यद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रदेशका सबै जिल्ला र जनतालाई पायक पर्ने स्थान कपिलवस्तु रहेको हुँदा प्रदेश सरकारले गरेको प्रस्ताव उपयुक्त नभएको धारणा सार्वजनिक गरेका छन् ।

प्रदेश ५ को सबैभन्दा ऐतिहासिक तथा पुरातात्विक दृष्टि र सबैको बीच भागमा पर्ने हिसाबले प्रदेशको राजधानी कपिलवस्तु बनाउनुपर्नेमा कांग्रेसको धारणा रहेको छ । पार्टीले एक प्रेस विज्ञप्ती निकाली बीच स्थानमा पर्ने जिल्ला कपिलवस्तु भएकाले कपिलवस्तुलाई राजधानी बनाउँदा कुनै पनि जिल्लालाई असर नपर्ने जनाएको छ ।

‘बुद्धकालिन ऐतिहासिक महत्वको भूमि र सबैको बीच भागमा पर्ने जिल्ला कपिलवस्तु भएकाले प्रदेशको राजधानी यही हुनुपर्छ, जिल्लाको जुन स्थानमा राखेपनि सबै जिल्लालाई पायक पर्ने हुँदा कपिलवस्तु नै राजधानी जायज छ, कांग्रेस कपिलवस्तुले भनेको छ ।’

अर्घाखाँची तथा गुल्मी जस्ता पहाडी जिल्लाको लागि समेत गोरुसिंगे तथा सालझण्डी हुँदै निर्माण गरिएका सडकले समेत कपिलवस्तु मध्यम स्थान रहेको पार्टीले जनाएको छ ।

त्यस्तै लुम्विनी क्षेत्र भारतका सिमाना तथा व्यापारिक नाका र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत कपिलवस्तु नजिक हुने हुँदा कपिलवस्तुलाई राजधानी वनाउन उपयुक्त रहेको सभापति आचार्यले जनाएका छन् ।

प्राचिन कपिलवस्तुको राजधानी समेत कपिलस्तु रहेको हुँदा त्यसैलाई आधार मानि राजधानी कायम गर्न कांग्रेस कपिलवस्तुले माग गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ६ : ०५ बजे