८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

प्रदेश ५ को राजधानी भालुवाङ नै बनाउने नेकपा संसदीय दलको निर्णय



बुटवल ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान शुरु भएर दिउँसो सकिएको बैठकले सबै सभासदहरुले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।
प्रदेश मन्त्री परिसद्को निर्णय लगत्तै शुक्रबार उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

बैठकमा कतिपय सभासदहरुले असहमतिका धारणाहरु पनि राखेका थिए । प्रमुख सचेतक ढकालका भनाईमा सभासदहरुले खुलेर आ-आफ्ना धारणा राख्नु भएको थियो । तर अन्तिममा मतदानका बेला प्रदेश सभामा पार्टीका सबै सभासद एक हुने र प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको छ । आबश्यक पर्दा पार्टीले सभासदहरुलाई ह्पि पनि लगाउन सक्ने उहाँले बताउनुभयो ।
बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसेको थियो ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सांसदहरुलाई निर्देशन दिनुभएको थियो । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, बिपक्षी नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् । गोरखापत्रबाट

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  ३ : ०४ बजे