८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अपाङ्गता व्यक्तिलाई रोजगारी सिर्जना गर्नु समाजको दायित्वः सरोकारवाला



मायादेवी अनलाइन, बुटवल ।
अपाङ्गता भएका व्यक्तिलाई रोजगारीका अवसरहरु सिर्जना गर्नु समाजको दायित्व भएको सरोकारवालाले बताएका छन् । रुपन्देहीको बुटवलमा शुक्रबार आयोजित कार्यक्रममा रोजगार विहिन अपाङ्गता भएका व्यक्तिलाई मुख्य प्राथमिकतामा राखेर सहज जीवनयापन बनाउन सवै निकाय जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।

द लेप्रोसी मिसन नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र राष्टिय अपाङ्ग महासंघ साझेदार रहेको रोजगार विहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि उर्जाशिल अवसर (फाउण्ड) परियोजनाको परिचयात्मक कार्यक्रममा सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य कुल प्रसाद पोखरेलले हरेक व्यक्तिमा कुनै न कुनै क्षमता हुने भएकाले उनीहरुको क्षमता र सम्भावनालाई हामीले उजागार गर्नुपर्ने बताउनुभयो । उहाँले हरेक व्यक्तिले खुशी र समृद्धि जीवन विताउने लक्ष्य राख्ने हुनाले अप्ठ्यारामा परेका अपाङ्गता भएका व्यक्तिलाई अवसर प्रदान गरेमात्र धेरै परिवर्तन आउने बताउनुभयो ।

उहाँले रोजगारबाट बञ्चितीमा परेका अपाङ्गता भएका व्यक्तिको जीवनमा उर्जाशिल अवसर प्रदान गरेर रोजगारीका सम्भाब्य क्षेत्रहरु परियोजनाले पहिचान गर्नुपर्ने बताउनुभयो । विगतमा कुष्टरोग लागेका व्यक्तिलाई समाजले हेयको व्यवहार गरेर अलग्गै राख्ने गरेको समाज यही हो, प्रदेश सदस्य पोखरेलले भन्नुभयो, अव विभेदकारी र अमानवीय व्यवहार रोक्नु पर्दछ ।

कार्यक्रममा द लेप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाखर कडेलले कुष्ठरोग निवारणमा लामो समयदेखि समुदाय तहमा कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो । नेपालका विभिन्न जिल्लामा अपाङ्गता, स्वास्थ्य सेवा, रोजगारी तथा जीविकोपार्जनको क्षेत्रमा ११ परियोजना संचालन भइरहेको बताउदै समुदायसंग हातेमालो गरेर अघि बढेको उहाँले बताउनुभयो ।

निर्देशक कडेलले फाउण्ड परियोजना समुदायको कार्यक्रम भएकाले दिगो रुपमा समुदायमा यसको अपनत्व बढाउनुपर्ने बताउनुभयो । बृद्धबृद्धा, महिला, विद्यार्थीबाट थोरै थोरै पैसा जम्मा गरेर आएको सहयोगलाई सार्थकता बनाउन हरेक क्षेत्र र सवै निकायको सहयोग अपरिहार्य भएको निर्देशक कडेलले औल्याउनुभयो ।

कार्यक्रममा फाउण्ड परियोजनाका निर्देशक चिरन्जीवि शर्माले अपागतालाई रोजगारीको अवसर सिर्जना गर्न समुदायका व्यक्तिको सोच बदल्नुपर्ने बताउनुभयो । उहाँले २५ सय व्यक्तिलाई औपचारिक रोजगारी तथा स्वरोजगारका लागि स्थानीय पालिकाहरु, उद्योग वाणिज्य संघ, विभिन्न उद्यमी व्यवसायीसंग सहकार्य भइरहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले अपाङ्ग भएका व्यक्तिलाई रोजगारीको अवसर दिदा उनीहरुको कामबाट धेरै सन्तुष्टी भएको बताएका थिए । अपाङ्ग व्यक्तिहरुले रोजगारी पाएर विभिन्न क्षेत्रमा उदाहरणीय सेवा दिइरहेको बारे सहभागीले प्रशंसा गरेका थिए । आ आफना उद्योग व्यवसायमा अपाङ्गतालाई रोजगारी गराउने कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

फाउण्ड परियोजनाका व्यवसाय विकास अधिकृत टंक प्रसाद उपाध्यायले परियोजनाको लक्ष्य उद्देश्य र कार्यक्रमको प्रस्तुती गर्नुभएको थियो भने कार्यक्रम संचालन रोजगार परामर्शकर्ता राधा अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७७ शनिबार ००:००  २ : १७ बजे