दीपक अनुरागी, चार नम्बर ।
लामो समयको रस्साकस्सीका बीच प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामकरणको प्रस्ताव संसदमा पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सभामुख पूर्ण बहादुर घर्ती समक्ष स्थायी राजधानी र नामाकरणको प्रस्ताव पेश गरेपछि लामो समय देखि हुन नसकेको प्रदेशको न्वारन यसपालि हुने पक्कापक्की जस्तै भएको छ ।
पटक पटकका छलफल, परामर्श र रस्साकस्सीका बीच प्रदेश सरकारले स्थायी राजधानीका लागि भालुवाङ क्षेत्र र ‘लुम्बिनी’ नामाकरण संसदमा पेश गरेको हो । अब संसदमा पेश भएको उक्त प्रस्ताव संसदबाट दुई तिहाईको समर्थन बोटुल्नुपर्ने हुन्छ । भए सहमती नभए दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी र नामकरण बनाउन सकिने स्पष्ट कानुनी व्यवस्था छ ।
सरकारको उक्त प्रस्ताव सार्वजनिक हुनुभन्दा पहिले नेकपाका अध्यक्षद्धय केपि शर्मा ओली र पुष्पकमल दाहालले पनि दाङमा राजधानी बनाउने सहमती जनाएको समाचार बाहिरिएको थियो । शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला दाङ अस्थायी राजधानीका लागि तोकिएको थियो । तर, रातारात उक्त सहमती उल्टाएर बुटवल अस्थायी राजधानी बनाइएको थियो ।
यद्यपि नेकपाका शक्तिशाली दुवै अध्यक्ष ओली र प्रचण्डको सहमतीसहितको स्थायी राजधानी भालुवाङ आसपासका क्षेत्र तोकिएको हो ।
प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत भएपनि स्थायी राजधानीको लागि मनहरु एक थिएनन् । राजनीति दर्शन, सिद्धान्त मिलेपनि राजधानीका लागि फरक फरक मत प्रकट हुँदै आएका थिए । तर, केन्द्रमा ओली र प्रचण्डको सहमतीले नेकपाका सांसदका फरक मनहरु अब एक ठाउँ आउनै पर्ने स्थिति आएको छ । प्रदेश सरकार स्वायत्त भएपनि संघीयताको कार्यान्वयन भैरहेको अवस्थामा केन्द्रको दबाब पर्दैै आएको छ । प्रदेश राजधानीका घोषणा गर्दा विगतमा देखिएका नजिरले पनि यो कुराको प्रमाणित गरिसकेको छ ।
यता कांग्रेसमा पनि स्थायी राजधानीका बारेमा एकमत देखिदैन् । साविक राप्ति र भेरी अञ्चलबाट प्रतिनिधित्व गर्ने सांसदहरुले दाङको पक्षमा लविङ गर्दै आएपनि रुपन्देही लगायत स्थानका सांसदले भने बुटवल आसपासलाई राजधानी तोक्नुपर्नेमा जोड दिदै आएका थिए ।
यद्यपि प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसको सरकारको यो कदमलाई कसरी लिएको छ कुनै औपचारिक प्रतिक्रिया आएको छैन् । तर, रुपन्देही कांग्रेसले भने यसको औपचारिक रुपमा विरोध गरेको छ ।
प्रस्तावित स्थायी राजधानी बर्दियादेखि नवलपरासी र पूर्वी रुकुमदेखि गुल्मीसम्मका सर्वसाधारणलाई पायक पर्ने स्थान हो । सबैको बीच भागमा पर्ने भालुवाङ क्षेत्र दाङ, प्यूठान र अर्घाखाँचीको संगस्थलस्थल हो ।
ऐतिहासिक राप्ती नदीको आसपासमा पर्ने उक्त क्षेत्र दक्षिण एसियाकै सबैभन्दा ठूलो उपत्ययकाका रुपमा पर्छ । महेन्द्र राजमार्ग भएर पनि कपिलवस्तुबाट पहाड छिचोलेर दाङ पुग्न सकिन्छ । शान्ति सुरक्षाका दृष्टिले पनि भालुवाङ उत्तम क्षेत्रमा पर्दछ । खुल्ला सीमाका कारण हुन सक्ने सम्भावित घटना रोक्नका लागि पनि भालुवाङ उत्तम क्षेत्रमा पर्दछ भने वातावरणका हिसाबले पनि तराई र पहाडको मिश्रित अनुभूति यहाँ पाइन्छ ।
प्रयाप्त जग्गा भालुवाङ क्षेत्रको अर्को विशेषता हो । भालुवाङ आसपासमा पर्ने अर्घाखाँची क्षेत्र विकासबाट उपेक्षित थियो । तराईसंग जोडिएको चुरे क्षेत्र भएपनि अविकसित सिद्धारा क्षेत्र राजधानी भएसंगै विकासको आशा पलाएको छ । बसाईसराईले उजाड बनेको उक्त क्षेत्र अब थप विकसित र उज्यालो बन्ने छ ।
यति मात्र होइन् कृष्ण सेन इच्छुक जस्ता क्रान्तिकारी कविका सपना विपनामा परिणत हुने छन् । इच्छुक जन्मस्थलको विकासले कोल्टे फेर्ने छ भने रोल्पा, रुकुम र प्यूठान जस्ता मुलुक परिवर्तनका संवाहक जिल्लाका सर्वसाधारणले घरदैलो अगाडी राजधानी पाउनेछन् ।
देशको राजनीति बृत्तामा केहीदिन यो विषयमा सकारात्मक तथा नकरात्मक प्रतिकृया पक्कै आउनेछन् । कोभिड–१९ को महामारीका बीच प्रदेशबासीले सरकारको निर्णयलाई कसरी स्वागत गर्छन हेर्न भने बाँकी छ ।
प्रतिक्रिया