७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

रुपन्देही कांग्रेसले भन्योः भालुवाङ राजधानी बनाउने प्रस्ताव मान्दैनौं



बुटवल ।
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय रुपन्देही कांग्रेसले नमान्ने भएको छ ।

नेपाली कांग्रेस रुपन्देहीले आफ्ना सांसदहरुलाई भालुवाङ बनाउने प्रस्तावको बिपक्षमा मतदान गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस बुटवल उपमहानगर कमिटी अध्यक्ष खेलराज पाण्डेले देउवा नेतृत्वको नेपाली कांग्रेसको तत्कालीन सरकारले बुटवललाई राजधानी बनाउने प्रस्ताव नेकपा नेतृत्वले अन्यत्र सारेको भन्दै कुनै हालतमा स्वीकार गर्न नसकिने बताए ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुबै अध्यक्षको सहमति भन्दै पार्टी सचिवालय बैठकको निर्देशन पछि प्रदेश सरकारले प्रदेशको नाम लुम्विनी र राजधानी भालुवाङ तोक्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेश सभाको बैठकमा आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेशको नाम लुम्विनी र राजधानी दाङको भालुवाङ प्रस्ताव गर्नासाथ कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुले बिरोध जनाएका थिए ।

रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल भने दाङमा राजधानी बनाउने पक्षमा थिए ।

यस बिषयमा नेकपाका नेताहरु भने कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमा छलफल हुने छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ४ : ०९ बजे