७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

वाणगंगामा शिक्षक दरबन्दी मिलान तुरुन्त गर्दैछौंः उप-मेयर अर्याल



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका नगर उप-प्रमुख चक्रपाणी अर्यालले नगरभित्र शिक्षक दरबन्दी मिलान छिट्टै हुने बताउनुभएको छ । गजेहडास्थित स्रोत केन्द्रमा शुक्रबार आयोजित नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बीचमा नगर-उप प्रमुख अर्यालले शिक्षक दरबन्दी मिलानको काम तीव्र रुपमा भैरहेको बताउनुभएको हो ।

सामुदायिक विद्यालयको शिक्षा सुधारमा नगरपालिका लागेको भन्दै उहाँले लामो समयदेखि रोकिएको दरबन्दी मिलानको काम केही दिनमै पूरा गर्ने बताउनुभयो । दरबन्दी मिलान कसरी गर्ने भन्नेबारे छलफल हुन लागेको भन्दै आ–आफ्ना राय सुझाव भए नगरलाई दिन उहाँले आग्रह गर्नुभयो ।

शिक्षक दरबन्दी मिलान सबै पक्षको सल्लाह, सुझाव र तोकिएको ऐन, नियम अनुसार हुने उहाँले प्रष्ट पार्नुभयो ।

नगर भित्र रहेका विद्यालयको भौतिक पूर्वाधारको काम केही बर्षमा सक्ने भन्दै अब विद्यार्थी नभएका विद्यालय समायोजनको काम पनि तत्काल अगाडी बढाइने बताउनुभयो । कानुनले तोके अनुसार विद्यार्थी नभएका विद्यालयलाई तत्काल समायोजन हुनुको विकल्प नभएको अर्यालले बताउनुभयो ।

साथै उहाँले प्लस टु पढाई हुने विद्यालयको शिक्षकले अर्को विद्यालयमा गएर पढाउन परे नगरपालिकाको अनूमती अनिवार्य लिनु पर्ने व्यवस्था मिलाउन लागिएको पनि जानकारी दिनुभयो । एक शिक्षकले धेरै ठाउँमा पढाउने गर्दा शिक्षाको गुणस्तरमा राम्रो नतीजा नदेखिएको उहाँले बताउनुभयो । ‘एक शिक्षकले धैरे ठाउँमा पढाउँदा सम्बन्धित शिक्षकलाई थकाई अवश्य लाग्छ, यसले समग्र विद्यार्थीको पढाईमा असर पुग्छ उहाँले भन्नुभयो, ‘प्लस टु पढाई हुने विद्यालयका शिक्षक अर्को विद्यालयमा पढाउन जाने प्रथाको अन्त्य गर्ने सोचमा हामी छौं ।’

यो विषयलाई खुल्ला छलफलमा लगेपछि मात्र नगरले बल्ल निर्णय लिने सोच बनाएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस नगरसंग कार्यसम्पादन सम्झौता गर्दै वाणगंगाका प्रअले भने ‘कर्मकाण्डी नहोस्, अनुगमन होस्’

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ११ : ०३ बजे