७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

नगरसंग कार्यसम्पादन सम्झौता गर्दै वाणगंगाका प्रअले भने ‘कर्मकाण्डी नहोस्, अनुगमन होस्’



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका प्रधानाध्यापकले नगरपालिकासंग कार्यसम्पादन सम्झौता गरेका छन् । गजेहडास्थित स्रोत केन्द्रको भवनमा शुक्रबार एक कार्यक्रमका बीच प्रधानाध्यापकले नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका उप-सचिव बाबुराम भट्टराईसंग कार्यसम्पादन सम्झौता गरेका हुन् । कार्यक्रममा नगर उप-प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता थियो ।

सम्झौता पत्रमा उल्लेखित ३१ बुँदेमा चालु शैक्षिकसस्त्रमा पूरा गर्ने प्रतिवद्धतासहित प्रधानाध्यापकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । जसमा यो चालु शैक्षिकसस्त्रमा प्रधानाध्यापकहरुले गत शैक्षिकसस्त्र भन्दा ५ प्रतिशत शैक्षिक उपलब्धी बृद्धि गर्नुपर्ने हुन्छ ।

कार्यसम्पादन सम्झौता पछि भएको कार्यक्रममा बोल्दै नेपाल शिक्षक महासंघका वाणगंगा नगर अध्यक्ष अर्जुन शाहीले कोभिड-१९ ले शिक्षा क्षेत्रमा पारेको असरका बीच गरिएको सम्झौता कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो । यद्यपि कोभिड-१९ को महामारी हल भएको अवस्थामा सम्झौता पूरा गर्न सकिने बताउनुभयो ।

नगरपालिकाले गत बर्षपनि यसैगरी सम्झौता गरे पनि बीच-बीचमा अनुगमन नभएको भन्दै यो बर्ष यस्तो नहुनेमा आशा व्यक्त गर्नुभयो । सम्झौता गर्नू ठूलो कुरा नभएको भन्दै बेला बेला नगरबाट सम्झौता कार्यान्वयनको अवस्था बुज्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रमेश पन्थीले शिक्षकसंग गरिएको कार्यसम्पादन सम्झौता कर्मकाण्डीका रुपमा नहोस भन्दै शुभकामना व्यक्त गर्नुभयो । यो बेला सम्झौता कार्यान्वयनमा थुप्रै चुनौती रहेको भन्दै ठोस योजनाका साथ कार्यान्वयन गर्नुपर्नेमा पन्थीले जोड दिनुभयो । विद्यालय नखुलेको अहिलेको अवस्थामा सम्झौता गरेर देखाउनु भन्दा पनि परिणाम देखिने गरी कसरी लाग्ने भन्ने बारेमा छलफल चलाउनुपर्ने उहाँले बताउनुभयो ।

नेपाल शिक्षक संघका नगर अध्यक्ष कुलराज पौडेलले पनि सम्झौता कार्यान्वयनको अवस्था बेला बेला बुज्न नगरलाई आग्रह गर्नुभयो । सामुदायिक विद्यालयमा सिकाईको गुणस्तर बृद्धिका लागि शिक्षक मात्र लागेर नहुने भन्दै सबै पक्षको चासो हुनुपर्नेमा जोड दिनुभयो । विद्यालयको आर्थिक, भौतिक र प्राविधिक क्षेत्रमा नगरबाट सहयोग भए सिकाई उपलब्धीमा नतिजा देखिने उहाँले बताउनुभयो ।

कार्यक्रममा गत बर्ष गरिएको कार्यसम्पादन सम्झौताको समिक्षा गरिएको थियो । शिक्षा शाखाका प्रमुख बाबुराम भट्टराईले गत बर्ष गरिएको सम्झौता अनुसार ३ प्रतिशत सिकाई उपलब्धी बृद्धि भएको बताउनुभयो । नगरको समग्र सिकाई उपलब्धी ५५ प्रतिशत बढी भएकोमा गत बर्ष गरिएको कार्यसम्पादन सम्झौताले ३ प्रतिशत बृद्धि भएर ५८ पुगेको बताउनुभयो । साथै उहाँले सम्झौता अनुसार ८ विद्यालय उत्कृष्ट देखिएको पनि बताउनुभयो ।

नगरका स्रोत व्यक्ति कविराज भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा नगर उप-प्रमुख चक्रपाणी अर्याल, शिक्षा शाखा अधिकृत खिम बहादुर जिसी लगायतले बोल्दै सम्झौता कार्यन्वयनमा जोड दिनुभएको थियो ।

यो पनि पढ्नुहोस वाणगंगामा शिक्षक दरबन्दी मिलान तुरुन्त गर्दैछौंः उप-मेयर अर्याल

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  १० : ३८ बजे