७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

कपिलवस्तु प्रहरीको निशानामा लागुऔषध कारोबारी



मायादेवी अनलाइन, तौलिहवा ।
लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको कपिलवस्तुमा प्रहरीले लागुऔषध कारोबारीको संजाल तोड्न बिशेष अभियान चलाएको छ । प्रहरीले एक महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम प्रहरीको फन्दामा परेका हुन् ।

लागुऔषध कारोबारीहरु अहिले प्रहरीको निशानामा परेका छन् । प्रहरीले नेपालबाट चरेश, अफिम, गाँजा भारत पठाउने र भारतबाट ब्राउन सुगर तथा प्रतिबन्धित औषधिहरु नेपाल ल्याउने कारोबारीहरुलाई पक्राउ अभियानले सफलता पाउदै गएको छ । खुला सिमानाको फाइदा उठाउदै भइरहेको लागुऔषधको अवैध कारोबार रोक्न प्रहरीले विगत एक महिना भित्र ठूलो परिमाणमा चरेश, अफिम पक्राउ गरेको छ ।

यस्तै ब्राउन सुगर, प्रतिबन्धित लागुऔषधसहित मानिस समेत पक्राउ परेका छन् । प्रहरीले एक साताभित्रै कृष्णनगर क्षेत्रमा ३७ किलो चरेश, साढे ७ किलो अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । यही अवधिमा २७ ग्राम ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए । दुई दिनअघि कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ पिपलबोट चेक प्वाईन्टमा आकस्मिक चेकजाँचका क्रममा रोल्पा साबिक कुरेली गाबिस १ की सिता रोकालाई अफिमसहित पक्राउ गरेको थियो ।

चन्द्रौटाबाट कृष्णनगर तर्फ आउदै गरेको लु.१.ह १५७ को अटोमा सवार उनलाई शंका लागी चेक गर्दा झोलामा राखेको अवस्थामा अफिम बरामद भएको थियो । घटनामा अटो चालक शिवराज नगरपालिका–५ बस्ने शुशील क्षेत्रीलाई समेत नियन्त्रणमा लिइएको थियो । गत असोज ७ गते कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित बसपार्क नजिकै भारत लाने तयारीमा रहेको ३७ किलो चरेशसहित २ जना महिला पक्राउ परेका थिए ।

मकवानपुर मनोहरी गाउँपालिका– ९ की ४० वर्षीया शान्ती तामाङ र साविक जिल्ला रोल्पा उवा गाबिस–५ घर भई हाल जिल्ला कपिलवस्तु शिवराज नगरपालिका–५ बानियाभर की ३५ वर्षीया बसन्ती घर्तीलाई पक्राउ गरिएको थियो ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–७ मर्यादापुरमा ब्राउन सुगरसहित २ जना भारतीय नागरिक पक्राउ परेका थिए । भारत जिल्ला सिद्धार्थनगर थाना सोहरतगढ पोष्ट ग्राम सोहरतगढका वर्ष २५ को लल्लु भन्ने नियाज धुनिया र वर्ष २० को अजमेरी धुनियाको साथबाट २७ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए ।

पछिल्लो एक महिनाको अवधिमा स्पास्मो, नाईट्रोसन लगायतका लागुऔषधसहित आधा दर्जन ब्यक्तिहरु समेत पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले लागुऔषध विरुद्ध प्रहरीले अभियान नै चलाएको बताए । ‘लागुओषध कारोबारीहरुको संजाल तोड्न हामीले आक्रमक रुपमा अभियान चलाएका छौ, त्यसबाट केही सफलता समेत मिलेको छ’ उनले भने ।

‘हामीले लागुऔषधबारे सुक्ष्म अध्ययन र अनुसन्धान गर्यौ, अवस्था गम्भीर देखियो, त्यसैले सबै ढंगबाट नियन्त्रणमा लाग्यौ’ उनले भने । खुला सिमाना, बढ्दो लागुऔषध सेवनकर्ताले गर्दा यसको नियन्त्रण्मा चुनौती थपिएको उनले बताए ।

प्रकाशित मिति : १६ आश्विन २०७७ शुक्रबार ००:००  ७ : ५६ बजे