९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आईपीएलः राजस्थानको पहिलो हार, कोलकत्ताको पहिलो जित



एजेन्सी ।
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।

दुबईमा बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।

राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।

राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २र२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।

कोलकत्ताका लागि शुबमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए ।

इयान मोर्गनले अविजित रहदै ३४ रन जोड्दा पाट कुमिन्सले १२ रन बनाएर आउट भए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक एक विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता लिगको दोस्रो स्थानमा समेत उक्लिएको छ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

कोलकत्ता पहिलो खेलमा मुम्बई इण्डियन्ससँग ४९ रनले पराजित भएको थियो । दोस्रो खेलमा भने कोलकत्ताले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको थियो ।

अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ ।

राजस्थानले पहिलो खेलमा चेन्नई सुपर किङ्सलाई १६ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७७ बिहिबार ००:००  ६ : ०४ बजे