पाल्पा ।
सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई लोभ्याउँछ । सारङ्गीको धुनसँगै गन्धर्व जातिले सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । त्यहि सुमधुर सारङ्गी धुन आजभोलि गाउँ तथा शहरी क्षेत्रमा विस्तारै सुनिन छाडेको छ ।
रम्भा गाउँपालिका–५ ताहुँका भीमबहादुर गन्धर्व अपमान र छुवाछूतकै कारण गन्धर्व जातिका युवा यो पेशाबाट विस्थापित भएको बताउनुहुन्छ । गीतसङ्गीतमा सारङ्गीको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।
सारङ्गी बजाउनेहरु अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ ।
सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक कारण गन्धर्व जातिका मानिस यस पेशाबाट वर्षेनी विस्थापित हुनुपरेको पीडा छ । युवा पुस्ता आफूले अँगालेको पेशामा आम्दानी र सम्मानसमेत चाहन्छ तर त्यसको अभावमा युवा पुस्ता अन्य पेशा व्यवसायमा आकर्षित हुँदै जाँदा सारङ्गी बजाउने पेशा नै सङ्कटमा परेको उहाँ बताउनुहुन्छ ।
ताहुँका जगतबहादुर गन्धर्व सारङ्गी बाजा नेपालको राष्ट्रि«यतासँग सम्बन्ध जोडिए पनि यस पेशामा आबद्धलाई सम्मानको खाँचो रहेको बताउनुहुन्छ । नेपालमा सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।
नेपाली मौलिक लोकबाजाका रुपमा परिचित सारङ्गी संरक्षणमा युवाको चासो बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो । गन्धर्व जातिको पुख्र्यौली पेशा नै सारङ्गी वादन हो । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनाका कारण सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक बनेको तर्क जगत गन्धर्वको छ ।
ताहुँकी शोझा रञ्जन गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन नसकेकामा गुनासो पोख्नुहुन्छ । सारङ्गी बजाउन नयाँ पुस्तालाई आकर्षित गर्न आवश्यक रहेको उहाँको जोड छ । यसका लागि सरकारले सारङ्गी सम्बन्धी तालीम तथा प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिएको उहाँ बताउनुहुन्छ ।
विसं २०६८ को जनगणनानुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल एक सय ९३, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भाको ताहुँमा आठ पुरुष र १९ महिला गन्धर्व बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया