दीपक अनुरागी, (कोठिया–मैदान), अर्घाखाँची ।
थपक्क बसेर खाने बेलाका रुक बहादुर नेपालीका आँखा अहिले ‘लिछिप्प’ भिजेका छन् । ना–नातिनासंग घरमै बसेर रमाउने बेलामा पुग्नुभएका नेपाली खुल्ला आकाशमुनि समथल जमीन कहाँ छ भन्दै खोज्न भौतारिनुभएको छ । उहाँ तीन छोरा र दुई छोरीका बुवा भैसक्नुभएको छ । ७० बर्षीय नेपालीका छोरा, छोरी लाखा–पाखा लागिसकेका छन् ।
चिन्ता कत्ति थिएन । जीवन जसोतसो गुज्रिएकै थियो । बुढ्यौलीमा लागेपनि ज्यानलाई आरामै थियो । समग्रमा ग्रामीण परिवेशका सर्वसाधारणको जस्तो जीन्दगी उहाँले बाँच्नुभएको थियो । तर, असोज ९ गते शुक्रबार जीवन नै अन्धकार बनाउने गरी एकाएक विपत्ति आई लाग्यो ।
घरका बस्तुभाउलाई घाँस काट्न भन्दै नजिकैको खेतमा उहाँ के पुग्नुभएको थियो । एकाएक आकाश मडारियो, विहानीको किरण छर्दैै गरेको सूर्य अन्धकार बन्यो । ‘गड्याङ–गुडुन’ आवाज गुन्जिन थाल्यो । जमीन थर्कियो । हेर्दा हेर्दा नजिकैका बस्ती भत्किए । आँखै अगाडीको आफ्नै घर ‘गड्याम्म’ ढल्यो ।
घटनाको बेलिविस्तार सुनाउँदै नेपालीले मायादेवी अनलाइनसंग भक्कानिदै भन्नुभयो, ‘विपत्ती बाजा बजाएर आउँदैन भन्ने सुनेको थिए, यहाँ त आखै अगाडी बाजा बजाएर पो आयो ।’ आँखै अगाडी सिंगो बस्ती भासिएको देख्नुभएका नेपालीको अहिले होसह्वास सबै उडेको छ । असोज ९ गतेको कुरा सुनाउँदा उहाँको भक्कानो फुटेर आउँछ । ‘मर्ने बेला बस्ने थातथलो छैन्, के खाने, के लाउँने पत्ता छैन्, यहाँ भन्दा ठूलो विपत्ति कसलाई आउँछ उहाँले थन्नुभयो, ‘दैवले खसानी घसेर हिड्ने बनायो ।’
२२ दिनकी सुत्केरी शारदा सारुलाई पनि विपत्ति आइलाग्यो । उमेरले कलिलै देखिने सारु सुर्वणखालबाट माइतीघर कोठिया–मैदान आउनुभएको थियो । मलमासको बेला घरमा बस्न नमिल्ने संस्कारले गर्दा सारु माइतीघर आउँनुभएको थियो । तर, असोज ९ गते शुक्रबार विहानपख आएको खतरनाक भू–क्षयले माइतीको घर आखाँ अगाडी भत्कायो ।
‘घरभित्र बच्चालाई दुध खुवाउँदै थिए, एकाएक गाउँबाट चिच्चाहट सुने, बाहिर नस्किदा त सिंगो गाउँ नै भासिएको देखे उहाँले घटनाको बेलिविस्तार सुनाउँदै भन्नुभयो,–‘माइत बसेर आमाबुवासंग रमाउँला भनेर आएकी थिए, झण्डै ज्यानै गएन ।’
आइतबार उहाँले घर जाने बाटो तय गरिसक्नु भएको छ । ‘माइतमा बस्न बासै छैन्, २२ दिनकी सुत्केरी छु, आफ्नो र बच्चाको सुरक्षा गर्नुछ, म त घर लागेकी हुँ, बाटोमा बच्चा बोकेर हिड्दैँ गरेकी सारुले मायादेवी अनलाइनसंग भन्नुभयो, अब त माइती गाउँ नै मरुभूमिमा परिणत भयो, अब खै कहाँ आउँ ।’
बर्षभरी काम गरेर टन्न खान पुग्ने जग्गा जमीन थियो ३९ बर्षीया तुल्सा अधिकारीको । बर्षमा ४० क्वीन्टल धान फलाउने खेत साथमै थियो । उस्तै मकै, गहुँ र तोरी हुन्थ्यो । अहिले उक्त भूमि मरुभूमि जस्तो बनेको छ । आधा घर भत्किएको अधिकारी अहिले लत्ताकपडा काखीमा राखेर खुल्ला आकाशमुनिको समथर जमीन खोज्दै हिड्नुभएको छ । ‘जाउँ भने कहाँ जाउँ, जाने कही ठाउँ छैन्, बस्ने बाँस छैन्, खाने गाँस छैन्, गहभरी आशु झार्दै अधिकारीले भन्नुभयो, ‘धेरै के विलौना पोखू, सरकारले समस्या पक्कै बुज्छ भन्ने आशा पालेकी छु ।’
शितगंगा नगरपालिका–१२ मा पर्ने कोठिया–मैदान चर्चित गाउँ हो । समथल भूमि रहेको यो गाउँ अहिले भासिएर भिरालो बनेको छ । ‘सम्मो भूमि भएरै मैदान गाउँ बनेको हो, गहभरी आशु राख्नै हातका औलाले भूमि देखाउँदै स्थानीय दिपक कुमार पुनले भन्नुभयो, ‘अहिले हेर्नु त यो भूमि कति भिरालो बन्यो ?’ गाउँको सबैभन्दा छेवैमा बसोबास गर्दै आउनुभएका पुनले सिंगो गाउँ देखाउँदै भन्नुभयो, ‘ कस्तो विडम्वना सपना पनि देख्न नसकिने दृश्य प्रत्यक्ष आखाँले देख्न पाइने रहेछ ।’
गत असोज ९ गते शुक्रबार आएको भूक्षयले यहाँका ५ गाउँलेको यो विचल्ली बनाएको हो । अर्घाखाँचीको शितगंगा–१२ मा रहेका कोठिया, मैदान, जोख्लेगैरा, पहेरेपानी, बताँसे लगायतका बस्ती अहिले मरुभूमिमा परिणत भएका छन् । असोजको दोस्रो हप्ता लाग्नै गर्दा परेको अवरिल बर्षासंगै आएको भूक्षयले यी बस्तीलाई मरुभुमिमा परिणत गराएको छ । लटरम्म धान झुलेको बेला आइलागेको विपत्तिले गाउँमा ‘सन्नाटा’ छाएको छ । तीन दिन रोएरै गाउँलेले आखाँ सुन्नाएका छन् । गाउँको एक छेउको पाखाबाट जान थालेको पहिरो सम्मोबस्तिमा आएर भूक्षयमा परिणत भयो । जमीनको ध्वजा फाटेर सिंगोबस्ती धस्सिएर भीरपाखो बनेको छ । जमीन भासिएपछि घरगोठ सबै भत्किन पुगेका छन् ।
सुरुमा २० घरमा क्षति पुगेको भएपनि तीन दिनसम्म आउँदा ६० घर जोखिममा पुगेका छन् । दिनहुँ जमीनका ध्वजा फाटिएर भूमि भासिँदै गएको छ । देख्दा पहिरो जस्तो नदेखिने, भूकुम्प गएको अनूभुति नहुने गरी यी पाँच बस्तीमा अच्चमको विपत्ति आइपुगेको हो । जमीनको क्षयिकरण देख्दा भूक्षय भएको भान स्थानीयमा छ ।
प्रभावित क्षेत्रका सर्वसाधारणले गाउँ यसरी किन भासियो भन्दै विज्ञ टोली झिकाउन माग गरेका छन् । पहिलो जाने जस्तो ठाउँ नभएको ठाउँमा जमीन भासिएकाले भूगर्वविदलाई झिकाउन स्थानीयले माग गरेका छन् । पत्रकार विष्णु कुमार आलेले कोठिया–मैदानमा देखिएको दृश्यलाई के भन्ने आफु अलमलमा परेको बताउँनुभयो । ‘पहिरो भनौं भने पहिरो होइन्, भुकम्प भनौ भने मापन केन्द्रले पत्ता लगाई हाल्थ्यो, उहाँले भन्नुभयो, भूमि एका-एक क्षयिकरण भएकाले विज्ञ टोलीलाई झिकाएर अनुसन्धान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
घरबारविहिन बनेको ५ गाउँले अहिले चौतारा, विद्यालयमा रात कटाउन बाध्य छन् । सिंगो ५ गाउँनै भासिएपछि कहाँ बसाल्ने ठाउँ छैन् । पशुचौपायको व्यवस्थापन पनि उस्तै चुनौतीपूर्ण छ । स्थानीय सरकारले अहिले रजिया र कोठियामा रहेको दुर्गामन्दिर आसपासमा गाउँलेलाई व्यवस्थापन गरेर राखेको छ । गोरुसिंगे–सन्धिखर्कबाट हिडेर झण्डै डेढ घण्टामा पुग्न सकिने उक्त स्थानमा अहिले यातायातका साधन लैजान सकिदैन् । हिडेर जानुपर्ने भएकाले जसोतसो बचाएका अन्नपात, लत्ताकपडालाई व्यवस्थापन गर्न कठिनाई भएको छ । यद्यपि ट्याक्टरसम्म लैजाने प्रयास गरिएपनि बाटो हिलाम्मे हुँदा निकै समस्या भएको छ । प्रभावित गाउँलेहरुले सरकारसंग गाँस, बाँस र कपासको माग गरेका छन् । सिंगो ५ गाउँलाई एकै स्थानमा राख्ने प्रबन्ध मिलाउन माग गरेका छन् ।
प्रतिक्रिया