बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीको शितगंगा १२ मैदान जोख्लेगैरामा जमिन भासिएर पहिरोका कारण ४० घरपरिवार भन्दा बढि बिस्तापित भएका छन् ।
करिव ७ सय रोपनी भन्दा बढी जमिन भासिएपछि करिव २ सय ६५ जना भन्दा बढी घर परिवार बिचल्लिमा परेका हुन् ।
घर गोठ भासिएपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । शुक्रबार राति यहाँका १४ भन्दा बढी घरपरिबारलाई कोठिया मैदान र अन्य २६ बढी घर परिबारलाई कुडापानी र रजिया गौरा माबिमा सुरक्षित स्थानमा राखिएको छ ।
शुक्रबार बिहान ११ बजेदेखि जमिन भासिन थालेपछि ईलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरिक्षक बाबुराम बस्नेतको नेतृत्वमा खटिएको प्रहरी टोली, रामबाण गुल्म ठाडाबाट खटिएका नेपाली सेनाको टोली, संचारकर्मी र सयौं स्थानीय बासिन्दाले उद्दार गरि वस्तीलाई अन्यत्र स्थानमा सारेका हुन् ।
घटनामा कुनै मानविय क्षति भएको छैन् भने पहिरोमा अड्किएर केही गाईवस्तु मरेका छन् । ७ सय बढी रोपनी जमिन भासिएर ध्वजा ध्वजा भएको छ । घरहरू पुरिएका छन् । दिउँसोको समयमा जमिन भासिएपछि मानिसहरू भागेर ज्यान बचाउन सफल भएका थिए ।
घरबार बिहिन भएर आत्तिएका आफ्ना नागरिकलाई सान्त्वना दिन शितगंगा १२ का वडा अध्यक्ष बाबुराम गैरे बाहेक नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी, उपमेयर टीका रेश्मी, कर्मचारी कोहि पनि घटनास्थलमा उपस्थित भएका थिएनन् ।
आफुले निर्वाचित गरी पठाएका नगरका प्रमुख, उप–प्रमुख लगायतका जनप्रतिनिधी आफुलाई दुःख, पिर, समस्या परेका बेला नआएपछि यहाँका नागरिक झनै आक्रोशित बनेका छन् । शनिबार बिहानैबाट अलपत्र परेका घरपरिवारलाई गाँस बाँस र कपासको व्यवस्थापन गर्न स्थानीय प्रशासन खटिएको जनाईएको छ ।
पहिरोका कारण घर तथा खेतीयोग्य जमिन भासिएको छ । घर भासिएर बिचल्लीमा परेका तारा बहादुर नेपालीको परिवार कोठिया मैदान प्रतिक्षालयमा बसेर रात काटेका छन् ।
नेपाली भन्छन्, ‘अहिलेसम्म मेहिनेतले आर्जेको घरसम्पती सबै पहिरोले पुरेको छ । गाईवस्तु मरेका छन् । अहिले के खाने, कहाँ बस्ने भन्ने चिन्ताले पिरोलेको छ ।’
अर्का स्थानीय तारा प्रसाद अधिकारीले गहभरी आँसु झार्दै भने, ‘बिस्तावित घरपरिवारलाई सरकारले गाँस, बाँस र कपासको लागि सुरक्षित स्थानमा लैजानु पर्छ । कसैको घर पुरेको छ । खेत पुरेको छ ।’
प्रतिक्रिया