९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

५० घण्टापछि यसरी उठे खोलाको बगरबाट ‘कृष्ण’, स्वर्गमा बास होओस् !



चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
दुई दिनसम्म खोजी प्रयास असफल भए पछि वेपत्ता कृष्ण पौडेललाई खोज्न तेश्रो दिनमा शुक्रबार पनि सुरक्षाकर्मी र गोताखोरको टोली विहानैबाट परिचालित थियो । सशस्त्र प्रहरीको कमाण्डमा नेपाल प्रहरी, नेपाली सेनाको विपद् टोली र गण्डक ब्यारेजको गोताखोर टोली विहानैबाट नदीले जिप बगाएको स्थान कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ र ९ को बीचमा पर्ने कोइली खोलामा पस्यो । शुक्रबार विहानै पनि स्थानीय सरकारका प्रतिनिधि लगायत बाक्लो संख्यामा घटनास्थलमा मानिस जम्मा भएका थिए ।

गोताखोरसहितको टोलीले घटनास्थलमा कृष्ण रहेको हुन सक्ने आशंकामा गर्नु पर्ने सबै प्रयास गर्‍यो । अक्सिजनको सहायताले गोताखोर टोली पानीभित्र चुर्लुम्म डुवेर भित्री सतहसम्म छामछाम-छुमछुम गर्‍यो । भुई खोतल्यो । कुनाकाप्चा, कप्चेरासम्म छिर्‍यो । विहानभर पानी मुनी बसेर गोताखोरले खोज्यो । यसरी खोजी गर्दा एक चिज भेटियो । सबै झसङ्ग भए । सबैलाई हो कि लाग्यो । सबैको ध्यान त्यतातिर गयो । तर भेटिएको चिज त्यही दिन हराएको मोटरसाइकल थियो । मोटरसाइकल निकालियो । कृष्ण भने अझै पनि अज्ञात नै रहे ।

त्यसपछि खोजी कार्यमा खटिएको टोलीको पनि दिमाग खराब भयो । आशंका गरिएको स्थानमा २ दिनसम्म खोजी गर्दा पनि नभेटिए पछि दिमाग खराब पनि किन नहाओस् खोजि टोलीको । जिल्ला भित्र र बाहिरको जनशक्ति कृष्णको खोजिमै केन्द्रित थियो । तर केही लागेको थिएन ।

शुक्रबार विहानभर गोताखोरसहितको टोलीले पनि खोज्दा कृष्ण नभेटिए पछि कृष्णका परिवार, आफन्त र इष्टमित्र पनि अन्यौलमा थिए । अब के गर्ने, के नगर्ने ? कृष्णको शव भेटिन्छ कि भेटिन्न ? भेटिए कहिलेसम्म भेटिएला ? कहिलेसम्म रातदिन झस्केर बस्ने ? यस्ता प्रश्नमा अनुत्तरित बनेको परिवारमा रुवाबासी चलिरहेको थियो । कृष्णका शुभचिन्तक र साथीभाई पनि यही पिरले भावुक थिए । तनावमा थिए ।

सुरक्षाकर्मी र गोताखोरको टोली खोजीमा धुमपातुम लागेको थियो भने यता बाणगंगा नगरपालिकाका प्रतिनिधि, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेललगायतको टोली, विद्यूतका कर्मचारी, स्थानीय लगायतको टिम पनि घटनास्थलदेखि रामघाटसम्म खोजतलासमा होमिएका थिए शुक्रबार । तीन दिन हुन लाग्दा पनि कृष्ण अज्ञात रहेपछि मानिस यसरी आत्तिएका थिए ।

उनीहरु पनि कोही सवारीमा, कोही पैदल, कोही डुङ्गा आदिमा भएर खोलाको वारीवारि, तलमाथि गरी-गरी खोज गरिरहे विहानभर । तर कृष्णको अवस्थाको बारेमा रत्ति पनि थाहा हुन सकेको थिएन ।
विद्यूत कार्यालयका हाकिम, विद्यूत कामको लागि जसले जतिबेला जहा बोलाउँछ तुरुन्त पुगिहाल्ने । अत्यन्तै सरल र मिलनसार, सबैका सहयोगी, केही गरौँ भन्दा आँट दिने, साहस दिने, उर्जा दिने आँटिला, जोशिला र साहसी स्वभावका कृष्णले थुप्रै मान्छे कमाएका रहेछन् । कृष्णको खबरले मर्माहत र स्तब्ध बनेका सबै गह र आाखाभरी आंशु टिल्पिलाउँदै घटनास्थलमा आइरहेकाबाट यो कुरा प्रमाणित हुन्थ्यो ।

यसो गर्दासम्म दिउँसोको १ बजिसकेको थियो । अनुमान गरिएको स्थानमा कृष्ण छैनन् भन्ने पक्का भए पछि अब उक्त सुरक्षा टोलीले डुङ्गाको सहायताले रामघाटसम्म जाने तयारी गरिरहेको थियो । उस्तैपरे वर्डरसम्म पनि डुङ्गा खियाउँदै पुग्ने तयारीमा थियो खोजी टोली । यसैले टोलीले डुङ्गा बनाउन तर्फ लागे । एउटा तयार भइसकेको थियो । अर्को डुङ्गा निर्माण हुँदै थियो । मानिसको भीँड हुने क्रम रोकिएको थिएन । ‘चाहे घाम चाहे पानी’ केही कुराको पनि प्रवाह नगरी मानिस जम्मा भएको भयै थिए ।

कृष्णको सास भेटिन्न भन्ने कुरा निश्चितै थियो भने लास त भेटिन्छ भन्नेमा धेरै आशाबादी थिए । तर ७२ घण्टा हुन लाग्दा पनि कृष्णको लास पनि नभेटिएपछि कतिपयले अब भेटिन्न भन्ने लख काट्दै थिए । कतिपयले सुरक्षाकर्मीले प्रभावकारी ढंगले खोज गरेन भनेर आलोचना गर्दै थिए । कतिपयले स्थानीय युवालाई जिम्मा दिएको भए त्यति बेलै फेला पार्न सक्थे, प्रहरीको अनावश्यक नाटक देखियो भन्ने पनि सुनियो । कतिपयले सशष्त्र प्रहरी र खटिने अन्य सुरक्षाकर्मीले भोकतिर्खा छोडी अहोरात्र खटेको भन्दै प्रंससा गर्दै थिए । जे भए पनि कृष्ण नभेटिएकोमा सबैको चेहरामा दुखको सन्नाटा थियो ।

यतिबेलासम्म करिब २ बजेको थियो, दिउँसोको । सशष्त्र प्रहरी बल पिपराका इन्स्पेक्टर अर्जुन ढकालले अब आफूहरुको अन्तिम प्रयास, नभए कुरिनटारको गोताखोरटोलीले खोज्ने भन्दै डुङ्गा टोलीलाई नदीमा परिचालन गरिसक्नै लाग्नु भएको थियो । त्यत्तिकैमा गाईगुई हल्ला चल्न थाल्यो कि एउटा शव भेटियो रे, दक्षिणतिर ।

यो अपुष्ट खबर एक प्रकारले यत्रतत्र सर्वत्र नै भइसकेको रहेछ । कजवेमा जम्मा भएका मानिस कृष्ण दाइ भेटिनू भयो रे भन्दै यताउती गरिरहेका थिए । प्रहरी कहाँ पनि यो खबर आयो । तीनदिनसम्म अहोरात्र कृष्णकै रिपोर्टिङमा खटिएको मायादेवी टोली पनि प्रहरीसंगै थियो यतिबेला ।

यत्तिकैमा कपिलवस्तु नगरपालिका वडा नम्बर ६ मा पर्ने सगरहवा भन्ने स्थानमा खोलाको पारीपट्टी एउटा शव भेटिएको थप जानकारी आयो, शव भेटिएको स्थान भने बुद्धभूमि नगरपालिका रहेको थियो । कसको शव भन्ने कन्फर्म थिएन, तर ९० प्रतिशत कृष्णकै हुनेमा धेरैले लख काटेका थिए । किनकि यो खोलामा कृष्ण बाहेक अरु कोही पनि वेपत्ता थिएनन्, थाहा पाएसम्म । मानिस भन्दै थिए पाइन्टको रङ पनि मिल्यो रे । यस्तैयस्तै ।

यत्तिकैमा खोजीमा खटिएको टोलीले यसबारे कन्फर्म गर्न थाल्यो । नभन्दै दिउँसो साढे २ बजेतिर कृष्णकै शव भेटिएको प्रमाणित भयो । प्रहरीको सबै युनिटमा यो खबर पुग्यो । सुरुमा विद्यूतका कर्मचारीले शव देखेको भनी खबर आएको थियो । तर पछि बुझदै जाँदा सगरहवाका स्थानीय महिलाहरु च्याउ टिप्न जाँदा एक चिज देखेका रहेछन् ।

एक जना महिलाले मायादेवीसंग भन्नुभयो– ‘काठको मुडोजस्तो देखिने, आधा पानी र बालुवामा डुबेको । अजंगको । देख्दै डर लाग्ने कुरा देखियो । यो देख्नासाथ आम्रो सातोपुत्लो उड्यो । हामी डरायौँ । आतित्यौँ । डराइडराई नजिक गएर हेर्दा त मान्छे पो रहेछ । त्यसपछि भूत जस्तो लाग्यो । झण्डै सातो उड्यो ।’ अर्की महिलाले तयसपछि तुरुन्तै १ सयमा फोन गरी पुलिसलाई जानकारी गराएकी रहिछन् । उहाँहरुलाई थाहा रहेनछ कि मानि पहिल्यै वेपत्ता थिए । यसरी खोजी भइरहेको छ भनेर । कृष्णको शव खोला किनारमा घोप्टो अवस्थामा भेटाएको ती महिलाहरुले बताए ।


लगत्तै मानिसको सगरहवा चौरमा भीँड हुन थाल्यो । शव खोलापारी थियो । खोलो ठुलो भएकाले जोसुकैलाई त्यहाँ पुग्न समस्या थियो । आँखा चिहाएर हेर्दा मुडोजस्तो देखिन्थ्यो । त्यो शव रहेछ । विद्यूत कार्यालय तौलिहवाका प्रमुख जयराम यादव, प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, जिल्लाका प्रहरी प्रमुख नवराज अधिकारी, कृष्णका केही आफन्त, गाउँले, उद्योगी व्यवसायी त्यो सगरहवा चउरमा पुगिसकेका थिए ।

मायादेवी टिमसंगै उद्योग संघका अध्यक्ष उमानाथ पौडेल पनि पुग्यौँ । कृष्णको शव उठाउन अलमल भएको रहेछ । शव भएको स्थान इलाका प्रहरी कार्यालय गोरुसिंगे मातहतमा रहेकाले मुचुल्का उठाउने जिम्मा उसको काँधमा हुने रहेछ । त्यसपछि थप विलम्ब भयो ।

मानिस जम्मा भएको भयै थिए । यतिखेरसम्म ४ बजिसकेको थियो । शव उठाउन ढिलाई गरेको भन्दै त्यहाँ भेला भएकाहरु प्रशासन र प्रहरीप्रति आक्रोशित हुँदै थिए । यत्तिकैमा गोरुसिङ्गेबाट प्रहरीको टोली पनि आइपुग्यो । शव उठायो । पाइन्ट र शर्ट लगाइएको अवस्थामा थियो । शव फुलेर शर्ट निकै टाइट थियो । मुख, टाउको र शरीरमा मा चोट थियो । फुल्लेर कृष्ण चिन्न नसक्ने अवस्थामा थिए । चोट थियो । यस्तै अवस्थामा परिवार र सरोकारवालाको रोहबरमा प्रहरीले मुचुल्का उठायो । त्यसपछि कालो प्लाष्टिकमा बेरेर डुङ्गामा राखियो । लाइफ ज्याकेट लगाएको सशष्त्रको खोजी टोलीले कृष्णलाई खोला पश्चिमबाट वारी पूर्व ल्यायो ।

शव आउनै लाग्दा चउरमा रुवाबासी सुर भइसकेको थियो । कोही रुन थाले । कोही चिच्याउन थाले । सबैका आँखा रसाएका थिए । कसैले मुख देख्न पाउँ न भन्दै अनुनयविनय गर्दै थिए । शव गन्हाइरहेको थियो । साँझ परेकाले सद्गद् गर्ने समय पनि नभएको हुँदा प्रहरीले त्यो भीँडमा शव देखाउन सकेन ।

अनि आफन्तको गाडीमा राखेर शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा लगियो । शव हेर्न आएकाहरु आँखाभरी आँसु बोकी आ-आफ्नो बाटो तर्फ लागे । केहीले ‘श्वास न लास’ हुन्छ भनेको अवस्थामा भेटिएकैमा खुसी व्यक्त गर्दै थिए । कति थुइक्क काल पनि राम्रो मान्छेलाई छिट्टै आउने रहेछ भन्दै थिए ।

त्यसको एकैछिनमा त्यो ठुलो चउर पनि खाली भयो । परिवार जनले शुक्रबार साँझ नै भ्यासम्म अन्त्येष्टि गर्ने कुरा गर्दै थिए । गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही, पाल्पासम्मका मानिस त्यहाँ भेला भएका थिए । सबैले एक होनहार, सहयोगी, मिजासिला र कर्तव्यपरायण कर्मचारी गुमाउनु परेकोमा मन गरुङ्गो बनाएर घरघ लागे । कृष्णको खोजिमा अहोरात्र खट्ने सुरक्षाकर्मी र सघाउने अरुलाई पनि धन्यबाद दिए ।

कृष्ण तिमीले बाँचुञ्जेल गर्नु पर्ने सबै कर्तव्य निभायौ । जिम्मेवारी पुरा गर्यौ । तिमीले कति गरेका रहेछौ भन्ने कुरा तिमीले नदेखे पनि परिवारले पक्कै देखिरहने छन् । तिमी वेपत्ता भएदेखि नभेटिँदासम्म हजारौँ हजारले तिमीप्रति सहनुभूति जनाए । रोए, कराए, चिच्याए । यसैबाट तिम्रो बचाइको उचाई मापन भएको छ । कृष्ण तिमी अमर बनेर गयौँ । तिमी मरेर पनि बाँच्यौ । अलविदा कृष्ण ! तिम्रो स्वर्गमा बास् ओहोस् ।

शोकाकुल र स्तब्ध परिवारजनमा भावपूर्ण समबेदना । निधन भएका अरु २ जनाप्रति हार्दिक श्रद्धाञ्जली । त्यो कहाली लाग्दो घटनापछि भाग्यले बाँचेर पुर्नजीवन पाउनु भएकाहरुलाई पनि बधाई । कृष्ण लगायतको टोलीलाई खोज्न अहोरात्र खट्ने पहिलो स्थानको सशष्त्र टोली, नेपाल प्रहरी, नेपाली सेना, गण्डक ब्यारेजको गोताखोर टेली, स्थानीय पौडीबाज युवाहरु, मिडियाकर्मी आफन्त सबैप्रति सलाम ! शव देखेर थाहा दिने स्थानीय आमादिदीहरुप्रति पनि हार्दिक आभार ।

असोज ७ गते कपिलवस्तुको बाणगंगा- ९ भलवाडबाट ड्युटी सकेर कार्यालय फर्कने क्रममा नदीले जिप बगाएपछि ३ जना वेपत्ता भएका थिए । त्यसमध्ये कृष्णको शव भेटिएको थिएन भने जिपका चालक र अर्का एक जनाको शव फेला परिसकेको थियो । अरु ३ जना पौडिएर बाच्न सफल भएका थिए ।

प्रकाशित मिति : ९ आश्विन २०७७ शुक्रबार ००:००  ९ : ०८ बजे