पाल्पा ।
पाल्पामा पहिरोले पुरिएर बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ। रम्भा गाउँपालिका २ फोक्सिङकोटस्थित सुरुङडाडाकी २७ वर्षीया मोतिसरा गाहाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले बताए। उनी गर्भवती भएको बुझिएको छ।
उनकाअनुसार सोही वडाको बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएको छ। पहिरोले घर पुरिँदा ६० वर्षीय हुमबहादुर गाहा उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, छोरी १७ वर्षीया कृष्णमाया गाहा, मामाघर आएकी नातिनी १४ वर्षीया र मनबहादुरकी नातिनी ८ वर्षीया लक्ष्मी गाहा बेपत्ता भएका उनले बताए। बिहान करिब ४ बजे पहिरोले पुरिएका हुन्।
तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिरोमा उनीहरू पुरिएका हुन्। अहिले सुरक्षाकर्मी र स्थानीयले उद्धार गरिरहेका छन्। आफ्नो नेतृत्वमा थप सुरक्षाकर्मी गएको गरेको प्रहरी उपरीक्षक भट्टराईले बताए।
घटनास्थल सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न र उद्धारमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। बाटोमा डोजर परिचालन गरेर थप सुरक्षाकर्मी ल्याउने तयारी भइरहेको उनले बताए। पानी परिरहेकोले अहिलेसम्म उनीहरूको उद्धार कार्यमा कठिन भइरहेको छ।
प्रतिक्रिया