१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

०३९ सालदेखि भलवाडबासीले कोइली खोलामा पुल मागे तर, सुनिदिने कोही भएनन् !



दीपक अनुरागी, चार नम्बर ।
जब बर्खा लाग्छ, कपिलवस्तु भलवाडबासीलाई एउटै कुराले पिरोल्छ कोइली खोला कसरी तर्ने ! दशकौं देखि कोइली खोलामा पक्की पुलको माग गर्दै आएका भलवाडबासीका लागि कोइली खोला काल जस्तै हो । बनगाई–डोहोटे सडकखण्ड अर्घाखाँची जिल्लासंग सिधा जोड्ने सडकमा पर्छ ।

अहिलेको वाणगंगा नगरपालिका वडा नं. ९ मा पर्ने यो स्थान साविक भलवाड गाविस नै हो । वरिपरिबाट खोलाले घेर्ने यो वडा बर्खामा कपिलवस्तुबाट सम्पर्क विच्छेद जस्तै हुन्छ । कारण पहाडबाट आउने उलर्दो बाढी तरेर बर्खामा आवाज–जावत गर्न सक्ने सामथ्र्य कसैको हुन्न ।

फेरि खोला तर्नुको विकल्प नै भलवाडबासीलाई छैन् । अर्घाखाँचीसंग सीमा जोडिएको भलवाडबासी नुनदेखि सुनसम्मको पहुँचसम्म पुग्न कोइली तरेरै जानुपर्छ । कोही विरामी भयो भने तुरुन्त खोला तर्नुको विकल्पै छैन्, भने घरमा खाद्यान्न सकियो भने पनि खोला तरेरै जानुपर्छ । सरकारी तथा गैरसरकारी कर्मचारीलाई पनि खोला तरेर डियुटी जानुको विकल्प नै छैन् ।

०३९ सालदेखि भलवाडबासीले खोलामा पक्की पुल माग्दै आएका छन् । हरेक चुनावमा भलवाड उम्मेद्वारलाई जिताउने निर्णायक बन्यो तर जितेका उम्मेद्वारले यहाँको समस्या बुझेनन् । पञ्चायत देखि राजा हुँदै गणतन्त्रसम्म आउँदा भलवाडबासीले एउटा पुल पाएनन् । भलवाड गाविसका पूर्व गाविस अध्यक्ष कुमार मधु वेल्वासेले ०३९ सालमा मोतिपुरबाट भलवाड गाविस भएदेखि नै कोइली खोलामा पुल माग्दै आएको स्मरण गर्नुहुन्छ । पटक-पटक पुल माग्दा एक लाख भन्दा बढी बजेट नपर्ने गरेको सुनाउँदै ०५४ सालमा आफु वडाध्यक्ष भएपछि कजवेसम्म बनाउन सकेको बेल्वासेले मायादेवी अनलाइसंग सुनाउनुभयो । ‘खोलामा पुल अनिवार्य छ, यो विषयमा खै के भनू, उहाँले भन्नुभयो, सधै भलवाडबासी सचेत बनेरै खोला तर्ने गर्थे, आज ठूलै घटना घट्यो ।’ यो बर्ष पुल बनाउँनका लागि डिपीआर बनेर ठेक्का लाग्न थालेको भन्ने आफुले सुनेको उहाँले सुनाउनुभयो ।

०७४ सालमा निर्वाचित प्रदेश सभा सदस्य विष्णु पन्थीले कोइली खोलामा पुल बनाउन आफुले निरन्तर पहल गरिरहेको बताउनुभयो । यसै आवमा प्रदेश सरकारले बनगाई, मोतिपुर, भलवाड- डोहोटे सडकखण्ड बनाउन लागेको र यसैमा कोइली ‘क’ र कोइली ‘ख’ खोलामा पुल बनाउन डिपिआरको काम भैरहेको सांसद पन्थीले जनाउनुभयो । डिपिआरको काम सकदा वित्तिकै टेण्डर पर्ने उहाँले बताउनुभयो । साथै उहाँले भलवाडबाट सडक पहुँचसम्म पुग्ने अर्को सडक बोडगाउँ- मोर्मी-जिनुवा हुँदै डोहोटे पुग्ने सडकमा प्रदेशले पुल बनाउने प्रकृया थालेको बताउनुभयो । विगतमा सरकारी उदासिनताकै कारण पुल बन्न नसकेको उहाँ बताउनुहुन्छ । आफ्नो कार्यकालमा पुल बन्ने भन्दै सबैलाई ढुक्क रहन सांसद पन्थीले आग्रह गर्नुभयो ।

भलवाड सामान्य गाउँ थिएन । यो त सिंगो कपिलवस्तुको उत्तरी भेगको गाविस थियो । पहाडबाट बसाईसरी आउँनेको गन्तव्य भलवाड हुन्थ्यो । कृषिको उर्वराभूमि रहनु, नजिकै जंगलको सुविधा हुनु, अर्घाखाँचीसंग सीमा जोडिदा हावापानी राम्रो हुनुले सबैको रोजाई भलवाड हुने गरेको थियो । विगतमा थारु समुदायको बाहुल्यता हुने गरेपनि आजभोलि पहाडीया समुदायको भलवाडमा बाक्लो बसोबास छ ।

पूर्व-पश्चिम राजर्मागबाट भलवाड नजिकै छ । कपिल ऋषिले तपस्या गरेको भूमि पनि भलवाड मै छ । जुन कपिलधामले परिचित छ । यति मात्र होइन्, भलवाडमै रहेका कपिलऋषिको नामबाट कपिलवस्तु नामाकरणसमेत भयो । तर, भलवाड सधै राज्यपक्षबाट उपेक्षित रहदै आएको छ ।

पटक-पटक भलवाडबासीले पुल मागे तर, पछिल्लो समय सरकारले पुलको साटो कजवे दियो । बाढी नआउँदा त कजेव हिड्नका लागि राम्रै थियो तर, जब बाढी आउँछ त्यो बेला काललै बन्थ्यो । पक्की कजवे भएको कारण साइट साइटमा गहिरो नदी बनेको थियो । बाढीले कजवे वरपर गहिरो नदीको आकार दिएको थियो ।

बुधबार दिउँसो नेपाल विद्युत प्राधिकरण गजेहडा वाणगंगा वितरण केन्द्रको बा. १ च. १०८९ नं.को पजेरो जीप यही कोइली खोलाले बगायो । जीपमा सवार ५ जना कर्मचारीसहित ६ जना थिए । जसमध्ये ३ जना पौडिएर बाँच्न सफल भए भने तीन जना वेपत्ता भए । जसमा बुधबार साँझसम्म जीप ड्राइभर माधव प्रसाद पाण्डेको शव फेला परेको छ । विद्युत प्राधिकरण गजहेडाका प्रमुख कृष्ण पौडेल र कर्मचारी केशव भाट क्षेत्री अझै वेपत्ता छन् ।

मंगलबार रातिदेखि परेको अवरिल बर्षाले विद्युतमा समस्या आएपछि प्राधिकरणको जीप भलवाड पुगेको थियो । भलवाडमा विद्युत मर्मतको काम सकाएर कार्यालय तर्फ फकर्दै गर्दा जीपलाई कोइली खोलाले बगाएको हो ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार बुधबार साँझसम्म उद्धारको काम गरेपनि रात परेकाले हराएका दुई जनाको शव फेला पार्न सकिएको छैन् । यद्यपि घटनास्थलमा रहनुभएका हाम्रा सहकर्मी चन्द्रकान्त न्यौपानेका अनुसार जीपलाई एक्साभेटरको प्रयोगले साँझपख निकालिएको छ । तर, शव भने भेटिएका छैनन् ।

जीपबाट हाम फालेर दुई जना कर्मचारीसहित एक जना महिला बाँच्न सफल भएका छन् । विद्युतका कर्मचारी पर्शुराम थारु र विजय पौडेल हाम फालेर बाँच्न सफल हुनुभएको हो । भलवाडमा शिक्षण पेशा गर्ने तर वाणगंगा आफ्नो घर आउँन विद्युतको जीपलाई सहायता खोजेर आउनुभएकी कोपला अधिकारी बाच्न सफल हुनुभएको छ । तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बुधबार भएको घटनाको थप भिडिओ हेर्नुहोस् ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  ७ : ३७ बजे