एजेन्सी ।
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सोमबार राति वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनाले गोल गरी सुरुवाति अग्रता दिलाए । ३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर अग्रता दोब्बर पारे ।
पछि परेको वुल्भ्सका लागि ७८ औँ मिनेटमा जिमिनेजले एक गोल फर्काए। इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो ।
जिससको गोलका लागि डी ब्रुयनाले सहयोग गरेका हुन् । पहिलो खेलमा विजयी भएको वुल्भ्स भने आफ्नो दोस्रो खेलमा सिटीसँग स्तब्ध भयो ।
सोमबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ । शेफिल्ड लगातार दुई खेलमा पराजित भयो भने एस्टन भिल्लाले लिगमा विजयी सुरुवात गरेको हो ।
प्रतिक्रिया