१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

सागमा स्वर्ण जित्ने खेलाडीलाई मानपदवी नदिएको भन्दै चर्को विरोध



काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवी नदिने सरकारको निर्णयको सर्वत्र विरोध भएको छ ।

संविधान दिवसका अवसरमा ५ सय ९४ जनालाई विभिन्न तक्मा तथा विभूषण दिने निर्णय गरेको सरकारले सागका स्वर्ण पदक विजेता खेलाडीलाई सूचिमा समावेश गरेको छैन ।

राष्ट्रको गौरव बढाउने खेल क्षेत्रलाई मानपदवी नदिएर सरकारले खेलाडीको अपमान गरेको सम्बद्ध क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरुको टिप्पणी गरेका छन् ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मानपदवीबाट खेलकुद क्षेत्रले अपमान महशुश गरेको भन्दै सरकारको निर्णयको विरोध गरेको छ ।

संघले बिज्ञप्ती जारी गर्दै सरकारले मानपदवीबाट बिमुख गर्दा खेलाडीले अपमानको महशुश गरेको उल्लेख गरेको छ ।

राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनाले सागका स्वर्ण पदक विजेता खेलाडीलाई मानपदवी नदिने निर्णयको विरोध गरेका छन् । उनले सागको मिसन प्रमुखको हैसियतमा माफी माग्दै यसअघि, आठौं सागका ३२ जना स्वर्ण पदकधारी खेलाडीलाई गोर्खा दक्षिण बाहु तेस्रोबाट विभूषित गरेको स्मरण गराएका छन् ।

यस्तै, अखिल नेपाल फुटबल संघ ९एन्फा०का पूर्व अध्यक्ष गणेश थापाले सरकारको निर्णयले सम्पूर्ण खेल जगतको अपमान भएको बताएका छन् । उनले खेलाडीलाई विभूषणबाट बञ्चित गर्ने निर्णयको सम्पूर्ण नैतिक जिम्मेवारी खेलकुद मन्त्री र सदस्य सचिवले लिनुपर्ने उल्लेख गरेका छन् ।

यस्तै, राखेपका बोर्ड सदस्य गोबिन्द भट्टराईले पदक र विभूषणबाट केही खेलाडी र पदाधिकारीलाई मात्र सम्मान गरिएको उल्लेख गर्दै राखेप सदस्य सचिवले प्राप्त गरेको पदवीलाई मौन वहिष्कार गर्नुपर्ने सुझाव दिएका छन् ।

उनले खेलकुदको एकता कायम राख्न गौरिका सिंह र अनु अधिकारी जस्ता खेलाडीको सम्मान गर्नुपर्ने धारणा राखेका छन् ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि २ सय ७ पदक जितेको छ । नेपाली खेलकुदको इतिहासमा नेपालले गत बर्ष भएको १३ औं सागमा सर्वाधिक स्वर्ण सहितका पदक प्राप्त गरेको थियो ।

तर संविधान दिवसका अवसरमा सरकारले दिने विभूषणमा धेरै स्वर्ण विजेता खेलाडीलाई बाहिर राखिएको छ ।

सरकारले विभूषणका लागि सबै खेलाडीलाई फर्म समेत भर्न लगाएको थियो । तर अन्तिममा बिना कारण विभूषण दिने सूचिबाट खेलाडीलाई सरकारले बाहिर राखिएको हो ।

विभागीय टिमबाट सागमा प्रतिनिधित्व गरेका १५ जना खेलाडीलाई भने विभूषण दिने सरकारको निर्णय छ । विभागको सिफारिसमा १५ जना विभागीय खेलाडीले तक्मा प्राप्त गरेका हुन् ।

तर घरेलु खेलकुदका नेतृत्व तहमा रहेका अधिकारीले आवश्यक पहल गर्न नसक्दा विभाग बाहिरबाट सागमा स्वर्ण जित्ने खेलाडी मानपदवीबाट बाहिर परेका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  ६ : ०८ बजे