एजेन्सी ।
क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर आर्टुरो भिडाल इटालियन क्लब इन्टर मिलानमा आबद्ध हुने भएका छन् ।
बार्सिलोनामा उनको सम्झौता अर्को वर्षको समरसम्म रहेको छ । तर नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले भिडाललाई आफ्नो योजनामा नरहेको भन्दै अन्यत्र जान सुझाव दिएका थिए । त्यसै अनुरुप भिडालले इन्टर मिलान जाने निर्णय गरेका हुन् । भिडाल स्वास्थ्य परिक्षण र औपचारिकता पूरा गर्न इटाली पुगिसकेका छन् ।
२०१८ मा जर्मन महारथी बायर्न म्युनिखबाट भिडाल तीन वर्षको सम्झौता गर्दै बार्सिलोना आएका थिए । उनले बार्सिलोनाका लागि ८५ खेलमा ९ गोल गरेका छन् । यसै सिजनमा डच मिडफिल्डर फ्रान्की डि जोङको आगमनसँगै भिडाललाई बार्सिलोनामा पहिलो रोजाईमा पर्न निकै संघर्ष गर्नुपरेको थियो । सोही कारण पनि बार्सिलोनाले भिडाललाई बेच्ने तयारी गरिरहेको थियो ।
चिलीकै एलेक्सिस सान्चेज इन्टर मिलान रहेकाले पनि भिडालको यात्रा सहज भएको अनुमान गरिएको छ । प्रशिक्षक एन्टोनियो कोन्टेले यसअघि चेल्सीका एनगोलो कान्टेलाई भित्र्याउने प्रयास गरेपनि सफल हुन नसक्दा भिडाल रोजाइमा परेका हुन् । यसअघि युभेन्टसबाट खेल्दै इटालियन लिग जितिसकेका भिडालले इन्टरबाट खेल्दै युभेन्टसको अधिपत्य तोड्ने प्रयास गरेछन् ।
प्रतिक्रिया