मायादेवी अनलाइन, तौलिहवा ।
प्रदेश नम्बर ५ सरकारले स्तरउन्नती गरी ५० बेडको अस्पताल बनाउने निर्णय गरे लगत्तै कपिलवस्तु अस्पतालमा दन्त रोग तथा स्त्री रोग सेवा समेत शुभारम्भ गरिएको छ ।
जनरल र प्रसुती सेवा दिदै आएको अस्पतालमा सो सेवा थपिएको हो । महिला तथा स्त्री रोगको सेवा अस्पतालमा बिगत ६ महिना देखि सुरु भएको हो । दन्त रोगको सेवा भने आइतबारबाट सुरु गरिएको छ ।
कपिलवस्तु अस्पताल तौलिहवामा दन्त रोग विभागको कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले रिबन काटेर उद्घाटन गर्नुभयो ।
सो अवसरमा मेयर सिंहले सदरमुकाम तौलिहवामा रहेको सरकारी अस्पतालमा दन्त रोगको सेवा सुरु हुनु अति नै राम्रो भएको बताउनुभयो ।
‘गरिब र बिपन्नलाई अब यो सेवा लिन बाहिर जानु पर्ने बाध्यता टरेको छ, यो अति राम्रो काम हो’ उहाँले भन्नुभयो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर. किशोर बन्जाडेले अस्पतालमा थपिएको यो सेवाले दातका रोगीहरुलाई सजिलो हुने बताउनुभयो । ‘निजी क्लिनीकमा गएर मंहगो उपचार लिन पथ्र्यो अब भने सस्तो र भरपर्दो सेवा यही पाईन्छ’ उहाँले भन्नुभयो ।
दन्त रोगका डक्टर शिव कुमार चौधरीले बिरामीहरुको आइतवार देखि नै जाँच सूरु गर्नुभएको छ । दन्त रोगका लागि चाहिने आवयश्कीय उपकरणहरु समेत प्रदेश सरकारको सहयोगमा ल्याई सकिएको छ ।
अस्पतालमा २ बिशेषज्ञसहीत नौ जना डाक्टर छन् । ल्याब एक्सरे र भिडियो एक्सरे सेवा समेत अस्पतालमा छ । ‘अस्पताल ५० बेडको बन्ने निर्णय भई सकेको छ, अब अस्पतालमा धरै सुबिधाहरु थपिने छन् मेसु बन्जाडेले भन्नुभयो ।
प्रतिक्रिया