१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अनुकरणीय अभ्यासः सामुदायिक विद्यालयको नतीजा सुधार्न प्रधानाध्यापकबीच कार्यसम्पादन सम्झौता



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका र नगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकका बीच आइतबार कार्यसम्पादन सम्झौता भएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले प्रधानाध्यापकलाई बोलाएर कार्यसम्पादन सम्झौता गरेको हो ।

नगरपालिकामा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, पत्रकारका बीच प्रधानाध्यापकहरुले चालु शैक्षिक सत्रमा गत बर्षको भन्दा १० प्रतिशत राम्रो नतीजा देखाउने गरी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा नगर प्रमुख केशव कुमार श्रेष्ठ, शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लिल बहादुर रावत क्षेत्री र प्रत्येक विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गर्नुभएको थियो ।

आइतबार देखि नै लागू भएको उक्त सम्झौता पत्रमा २६ बुँदा उल्लेख छन् । जसमा विद्यालय सुधार योजना चालु शैक्षिक सत्रमा गर्ने देखि आचारसंहिताको पालनासम्म रहेका छन् । विद्यालयमा अभिभावकको भूमिका प्रभावकारी बनाउने, विद्यालय बाहिर विद्यार्थी राख्न नपाइने, विद्यालय छाडेका विद्यार्थीलाई अनिवार्य विद्यालयमा ल्याउनुपर्ने, बालमैत्री शिक्षण सिकाई अवलम्वन गर्ने लगायत सम्झौता पत्रमा उल्लेख छन् ।

सम्झौता पश्चात प्रधानाध्यापकले अब चौमासिक रुपमा नगरपालिकालाई कार्यप्रगति अनिवार्य बुझाउनुपर्ने छ । प्रधानाध्यापकले नगरमा सम्झौता गरे पश्चात अब प्रधानाध्यापकले आफ्ना शिक्षकसंग कार्यसम्पादन सम्झौता गनुपर्ने छ ।

विगत देखि नै नगरको शैक्षिक गुणस्तरमा लागेको बुद्धभूमि नगरपालिकाले प्रधानाध्यापकसंग कार्यसम्पादन गरेपश्चात सामुदायिक विद्यालयको नतीजामा परिवर्तन आउने अपेक्षा गरेको छ । कोभिड-१९ को महामारीले शिक्षा क्षेत्र तहसनहस भैरहेको बेला बुद्धभूमि नगरपालिकामा गरिएको कार्यसम्पादन सम्झौताले बैकल्पिक शिक्षाबाटै भएपनि शिक्षकले अब विद्यार्थीलाई नतीजा देखिने गरी अध्ययन गराउनुपर्ने भएको छ ।

६ महिना विद्यालय बन्द भएपनि शिक्षकहरुले राज्यबाट तलवभत्ता खाइरहेको परिपेक्षमा अब बुद्धभूमिका शिक्षकले मेहनत गरेर गत बर्षको भन्दा १० प्रतिशत बढी शैक्षिक नतीजा देखाउनुपर्ने छ ।

कार्यसम्झौता पश्चात नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रधानाध्यापकहरुलाई नतीजा देखिने गरी सामुदायिक विद्यालयको शिक्षालाई सुधार गर्न निर्देशन दिनुभएको छ । गत बर्ष पनि यस्तै प्रकारले सम्झौता गरेपनि नतीजा खासै उपलब्धी मूलुक नदेखिएको भन्दै यो बर्ष औपचारिक कार्यक्रम गरेरै कार्यसम्पादन सम्झौता गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । शिक्षा, स्वास्थ्य नै विकासका मूल आधार रहेको भन्दै शिक्षा क्षेत्रको सुधारमा आफु लागेको उहाँले बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले कार्यसम्पादन सम्झौता पश्चात नगरपालिकाको शिक्षा क्षेत्रले फड्को मार्नेमा विश्वास व्यक्त गर्नुभयो । औपचारिक रुपमा गरिएको सम्झौता महत्वपूर्ण रहेको भन्दै यसको मर्म र भावना अनुरुप देखाउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख लिल बहादुर रावत क्षेत्रीले कार्यसम्पादन सम्झौतामा उल्लेख भएका विषयबारे जानकारी दिनुभएको थियो । नगरले सम्झौतामा उल्लेख गरेका विषय शिक्षकले अनिवार्य पालना गर्नुपर्ने नै विषय उहाँले स्पष्ट पार्नुभयो । उक्त सम्झौता कानुनबाट निर्देशित विषय नै रहेको उहाँको भनाई थियो ।

शिक्षा शाखाका अधिकृत कृष्ण भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा नगर उप-प्रमुख मिरा थारु, नगर शिक्षा समितिका सदस्य विष्णुहरि शर्मा, नेपाल शिक्षक महासंघका नगर अध्यक्ष रामप्रसाद पौडेल लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ६ : १४ बजे