१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आइपिएलमा पञ्जावविरुद्ध दिल्लीः सन्दिपको सम्भावना यस्तो छ



काठमाण्डौँ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । सन्दीप सम्मिलित दिल्लीले आइतबार किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै सुरुवात गर्ने छ ।

क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेलेर सन्दीप सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका थिए । सिपिएलमा १२ विकेटसाथ स्थिर प्रर्दशन गरेका सन्दीपलाई आइपिएलमा त्यहिं प्रर्दशनलाई निरन्तरता दिन चुनौती छ ।

सिपिएलको प्रर्दशनले सन्दीपको मनोबल उच्च छ । चार विदेशी कोटामा स्थान बनाउन सहज भने देखिदैन ।

सन्दीपको सम्भावना

आजको खेलमा सन्दिप हुने छन् या छैनन् । अझै टुङ्गो लागेको छैन । यद्यपी धेरैले सन्दिप आजको खेलमा सहभागी हुने आशा गरेका छन् । सन्दिप खेल्न उनले अमित मिश्रा या विदेशी अरु खेलाडीलाई पछि पार्नु पर्ने छ ।

दिल्लीसँग प्रमुख स्पिनरमा रविचन्द्रन आश्विन, अमित मिश्रा र सन्दीप लामिछाने छन् । अलराउन्डरको रुपमा अक्षर पटेल छन् । ३७ वर्षिय अमित मिश्रा आइपिएलका सर्वाधिक विकेट लिने दोस्रो खेलाडी हुन् । सर्वाधिक विकेट लिने स्पिनर हुन् ।

मिश्राले आइपिएलमा १ सय ४७ खेलमा १ सय ५७ विकेट लिएका छन् । मिश्रा आइपिएल इतिहासमा तीन पटक ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् । जसले गर्दा सुरुवातमै मिश्रालाई बेन्चमा राख्ने सम्भावना कम छ । मिश्राले खराब प्रर्दशन गर्दा सन्दीपलाई बाटो खुल्ने छ ।

अफ स्पिनर आश्विनले भने नियमित स्थान बनाउने छन् । आबूधाबी, दुबई र शारजाह पिच स्पिनर उपयोगी हुँदा दुई प्रमुख स्पिनर टोलीमा खेलाउने सम्भावना छ ।

सन्दीपलाई चार मात्र विदेशी खेलाडीको कोटामा स्थान बनाउन सहज हुने छैन । दिल्लीले दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडा र वेस्टइन्डिजका मध्यक्रमका आक्रामक ब्याट्सम्यान शिम्रन हेटमायरलाई पहिलो रोजाईमा खेलाउने निश्चित जस्तै छ ।

चौथो विदेशी कोटामा सन्दीपसँगै अष्ट्रेलिया अलराउन्डर मार्कस स्टोइनिस, विकेटकिपर एलेक्स केरी र वेस्टइन्डिजका अलराउन्डर किमो पल छन् । हेटमायर र ऋषभ पन्त नचलेको खण्डमा दिल्लीको तल्लोक्रम ब्याटिङ कमजोर हुने देखिन्छ ।

सन्दीपले यूएईमा लगातार खेल्दै आएका छन् । सन्दीपले सन् २०१७ डिसेम्बरमा यूएईसँग आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आबूधाबीमा दुई खेल खेलेका थिए । जसमा एक एक विकेट लिएका थिए ।

सन् २०१८ मा सन्दीपले टि१० लिगमा केरला किंग्सबाट शारजाहमा ६ खेलमा ६ विकेट लिएका थिए । सन् २०१९ को जनबरीमा सन्दीपले यूएईसँगको तीन ओडिआई सिरिजमा दुबईमा ३ खेलमा ७ र तीन टि२० मा ५ विकेट लिएका थिए । सन् २०१९ फ्रेब्रुअरी मार्चमा सन्दीपले पाकिस्तान सुपर लिगमा लाहोर कलन्दर्सबाट आबूधाबी, दुबई र शारजाहमा खेल्दै ७ खेलमा ११ विकेट लिएका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा तीन वर्षलाई टोलीमा अनुबन्ध गरेको थियो । जस अनुसार दिल्लीमा सन्दीपको अन्तिम सिजन हुने छ ।

सन्दीपलाई यस सिजनपछि दिल्लीले फुकुवा गर्ने छ । आगमी अक्सनमा सन्दीपलाई यस वर्षको प्रर्दशनले पनि निकै प्रभाव पार्ने छ । सन्दीपले आइपिएलमा क्षमता अनुसारको पारिश्रमिक नपाएको भन्ने समर्थक र सुभचिन्तको गुनासो रहँदै आएको छ ।

अन्य विदेशी लिगहरुमा करोडसम्म बिकेका सन्दीपले आइपिएलमा भने ३२ लाख नेपाली रुपैयाँमा खेल्दै आएका छन् । यस सिजनमा उत्कृष्ट प्रर्दशन गर्न सके आगमी वर्षको अक्सनमा सन्दीपले महँगो मूल्य पाउन सक्छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  १० : ३८ बजे