१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कपिलवस्तुका ठाउँ-ठाउँमा संविधान दिवसको विरुद्धमा विरोध प्रदर्शन



मायादेवी अनलाइन, चारनम्बर ।
नेपालको संविधान जारी भएको दिन असोज ३ गते देशभर विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहदा कपिलवस्तुमा भने असन्तुष्टिका स्वरहरु गुञ्जिएका छन् । संविधान जारी भए देखि नै विरोधमा रहँदै आएका तराई केन्द्रित दलहरुले शनिबार पनि विरोध स्वरुप विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, बहादुरगञ्ज लगायतका स्थानमा जनता समाजबादी पार्टी निकट नेता तथा कार्यकर्ताले विरोधका कार्यक्रम आयोजना गरेका हुन् ।

संविधान जारी भएको ५ वर्ष बित्दा समेत मधेसी, जनजाति पीछडा वर्ग लगायतको हक अधिकार सुनिश्चित नगरेको भन्दै शनिबार कालो ब्यानर र कालो पट्टी बाधेर राजपाका नेता कार्यकर्ताहरु सो कार्यक्रममा सहभागी भएका थिए । उनीहरुले संविधानलाई सबैको साझा र अपनत्वग्रहण गर्ने बनाउनु पर्ने माग गरे ।

जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा तौलिहवामा भएको कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेता रबिन्द्र मिश्राले संविधान त्रुटिपूर्ण रहेको र जारी भएको ५ वर्ष बिति सक्दा पनि संशोधन नहुनु दुःखद कुरा भएको बताउनुभयो । ‘ओली नेतृत्वको दुई तिहाईको सरकार गठन भएको ढाई वर्ष भयो तर संविधान संशोधनमा सरकार उदासिन देखिएको छ’ उहाले भन्नुभयो, ‘निर्वाचनका बेला मधेसमा संविधान संशोधन गर्ने आश्वासन दिएर भोट लिएका दलहरु समेत अहिले संशोधनमा मौन छन् ।

नेता दानबहादुर चौधरीले संविधान सबैले अपनत्वग्रहण गर्ने किसिमले बनाउनु पर्ने बताउनुभयो । जनता समाजवादीका जिल्ला अध्यक्ष शैलन्द्रकुमार यादवले संविधानमा मधेसी, जनजाति अल्पसंख्यक पीछडा वर्गहरुको अधिकार सुनिश्चितता नभएकाले अधिकार प्राप्ती नभएसम्म बिरोध जारी रहने बताउनुभयो । ‘एक पक्षले खुशीयाली मनाईरहदा अर्का पक्ष अधिकार कै लागि विरोधमा उत्रेका छौ’ उहाले भन्नुभयो ।

कार्यक्रममा राजपाका डेढ दर्जन नेताहरुले सम्बोधन गरेका थिए । खासगरी बैवाहिक अंगीकृत नागरिकता सम्बन्धि बनाइएको ७ वर्षे नियमका विषयमा नेताहरुले चर्को विरोध गरेका थिए । पार्टी जिल्ला अध्यक्ष यादवको अध्यक्षता, संदीप पाण्डेयको संचालनमा भएको कार्यक्रममा राजपा नेता तथा प्रदेश सदस्य सहसराम यादव, नेता नारायण खनाल, सुद्धोदन गाउँपालिका अध्यक्ष तथा नेता निसार अहमद खा, अब्दुल रसिद खाँ लगायतले संविधान अपुरो रहेकोले संशोधन गर्नुपर्ने माग गर्नुभयो ।

कृष्णनगरमा भएको कार्यक्रममा पार्टीको केन्द्रिय कार्यक्रम अन्र्तगत असोज ३ गते शनिबार कालो दिनको रुपमा मनाइएको समाजबादी पार्टीका प्रदेश प्रवक्ता अकरम पठानले बताउनुभयो ।

विगत देखि नै आफुहरुको माग संविधान संशोधनको रहेको भन्दै सरकारदले यसमा कुनै चासो नदेखाएकाले हरेक बर्ष असोज ३ लाई कालोदिनको रुपमा मनाउन बाध्य भएको पठानले बताउनुभयो ।

उता कृष्णनगरमा अयोजित बिरोध प्रदर्शनमा राम निवास पुरी, शम्भू पाण्डेय, छेदी प्रसाद यादव ,जीवन श्रीवास्तव, बजरंगी गुप्ता, नदीम अरशद इदरीसी, बृजेश कुमार गुप्ता, सलमान इदरीसी, निखिल पाठक, ऋषि रजक लगायतको उपस्थिते थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७ आइतबार ००:००  ८ : ३४ बजे