दाङ ।
दाङमा सवारी दुर्घटनामा परी एक किशोरको मृत्यु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ वर्षीय प्रकाश कुँवरको सवारी दुर्घटनामा परी मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका सई रत्नबहादुर खत्रीले जानकारी दिए।
गम्भीर अवस्थामा फेला परेका कुँवरको शुक्रबार बिहान ७ बजेतिर लमहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले खत्रीले बताए।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी चोक नजिकै उनलाई साढे ३ देखि ४ बजेको बीचमा सवारीले ठक्कर दिएको अनुमान प्रहरीको छ।
कुँवर छिमेकी देश भारतबाट घर फर्किरहेका थिए। उनी घर नपुग्दै बाटोमै गाडीको ठक्करबाट मृत्यु भएको प्रहरीले बताएको छ।
‘दिदीको घर राप्ती गाउँपालिकाको मसुरियामा रहेछ र त्यही जान भनि आएका रहेछन्। चोकमा ओर्लिर भाइले दिदीलाई शुक्रबार बिहान ३ बजेर २५ मिनेटमा फोन सम्पर्क गरेको देखिन्छ,’ सई खत्रीले भने, ‘तर, दिदीले भारतबाट आएको भाइमा कोरोना संक्रमण हुन सक्ने भन्दै आफ्नै घरमा जान भनेपछि उनी घरतर्फ हिँडेर जाने क्रममा गाडीले ठक्कर दिएको अनुमान भइरहेको छ।’
सई खत्रीले कुँवरलाई ट्रकले ठक्कर दिएको हुन सक्ने आशंका भइरहेको बताए। खत्रीले भने, ‘हामीले बिहानैदेखि गाडीको खोजी गरिरहेको भए पनि अझै पत्ता लगाउन सकिरहेका छैनौं।’
लमही बजारदेखि भालुवाङसम्म इन्ट्री गरेका गाडीहरूको अनुसन्धान भइरहेको तथा कपिलवस्तु र प्युठान सम्मका गाडीमा निगरानी बढाइएको खत्रीले जानकारी दिए। ठक्कर दिने गाडीको खोजी तीव्र रूपमा भइरहेको उनले बताए।
प्रतिक्रिया