१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

समुदाय स्तरमा दुई दिने सरसफाई तालिम संचालन



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा नगरपालिका ३ स्थित समुदायमा स्तरमा खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धी २ दिने तालिम संचालन गरिएको छ ।

श्री गौरी भवानी मा.वि. मा संचालित तालिममा सहभागीलाई व्यक्तिगत सरसफाईमा ध्यान नदिदा धेरै स्वास्थ्य समस्या आउने भएकाले यसबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले २ दिने समुदाय तहमा तालिम संचालन गरिएको हो ।

घरायसी तहमा पानी शुद्धिकरण विधी, सावुन पानीले हातधुनुपर्ने जोखिमपूर्ण अवस्था, कोरोना महामारीमा स्वास्थ्य सावधानी, व्यक्तिगत सरसफाई लगाएतका विषयमा तालिम संचालन गरिएको थियो । द लेप्रोसी मिसन नेपालको इम्प्याक्ट परियोजना अन्तरगत वाणगंगा ३ मा गठित राजापानी समुहमा आवद्ध सदस्यहरुका लागि तालिम संचालन गरिएको स्वास्थ्य तथा डिडिआर संयोजक नाति देसारले जानकारी दिनुभयो ।

तालिम उद्घाटन शत्रमा कार्यपालिका सदस्य योगनाथ सुनारले तालिम समसामयिक र प्रभावकारी भएको बताउनुभयो । सोही अवसरमा फाउण्ड परियोजनाकी रोजगार परामर्शकर्ता गिता अर्यालले अपाङ्गता भएका व्यक्तिलाई रोजगारीको अवसर सिर्जना गर्नु सवैको दायित्व भएको बताउनुभयो ।

तालिममा राइट प्रोजेक्टका रिसर्च कर्ताहरु सुरज पुरी, सुबी अन्सारी लगाएतले बोलेका थिए । तालिमको सहजीकरण इम्प्याक्ट परियोजनाकी सामाजिक परिचालक भगवती राउतले गर्नुभएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:००  ९ : ४२ बजे