१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

चश्मा लगाउनुहुन्छ ? अध्ययन भन्छः कोरोना संक्रमणको जोखिम कम हुन्छ



काठमाडौं ।
चीनका अनुसन्धानकर्ताहरुले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । कोभिड-१९ का संक्रमितहरुमाथि गरिएको अध्ययनले नियमित चश्मा लगाउनेहरुमा संक्रमणको जोखिम तुलनात्मक रुपमा कम रहेको पाइएको हो ।

यो तथ्यपछि के साँच्चिकै चश्माले व्यक्तिलाई संक्रमणबाट बचाउँछ त ? भन्ने चासो वैज्ञानिकहरुमा बढेको समाचारमा उल्लेख छ । तर विशेषज्ञहरुका अनुसार यही एउटा रिपोर्टको आधारमा निष्कर्ष निकाल्न भने हतारो मात्र हुनेछ ।

चीनका विभिन्न अस्पतालमा ४७ दिनभित्र भर्ना भएका २७६ जना संक्रमितमा यो अध्ययन गरिएको थियो । जसमा चश्मा लगाएका संक्रमितको संख्या मात्र १६ जना थियो । जब कि चीनका अधिकांश व्यक्तिले चश्मा लगाउने गरेका छन् । गत डिसेम्वरमा वुहानमा देखिएको संक्रमणको अहिलेसम्मको अध्ययनपछि चश्मा लगाउने व्यक्तिमा कोरोना संक्रमण कम भएको पाइएको रिपोर्टमा उल्लेख छ ।

चश्माले हाँछ्यु गर्दा निस्किने थुकलाई छेकिदिने कारणले कम संक्रमित भएको हुनसक्ने केही विज्ञको भनाइ छ । यस्तै चश्मा लगाउने व्यक्तले आफ्नो आँखालाई हातले कम छुन्छन् ।

सन् २०१५ मा गरिएको एक अध्ययनका अनुसार सामान्य व्यक्तिले प्रति घण्टा कम्तीमा १० पटक आफ्नो नाक, मुख वा आँखा छुने गर्दछन् ।

तर चश्मा लगाउने व्यक्तिलाई कोरोना संक्रमण कम हुन्छ भन्ने रिपोर्टलाई विशेषज्ञहरुले भने अपवाहको संज्ञा दिएका छन् । यसको भरपर्दो वैज्ञानिक पुष्टि भैनसकेको उनीहरुको भनाइ छ ।

प्रकाशित मिति : १ आश्विन २०७७ बिहिबार ००:००  १० : १७ बजे