हरि अधिकारी, वाणगंगा ।
कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले नागरिकका अपेक्षा अनुसार आफुहरु नागरिकको सेवामा खटिरहेको बताउनुभएको छ । उहाँले खासगरी वाणगंगा नगरको मुख्य समस्या आफुलाई अवगत भएकाले लागु औषध दुव्र्यसन नियन्त्रणमा समुदायसंग फरक तरिकाले हातेमालो गरेर जान खोजेको स्पष्ट पार्नुभयो ।
लागु औषध रोकथाम र नियन्त्रणमा स्थानीय समुदायको सहयोग आवश्यक छ, प्रहरी उपरिक्षक अधिकारीले भन्नुभयो, स्थानीय समुदाय र अभिभावकको बलियो प्रतिवद्धताले नै रोकथाममा सफलता हात पार्छौ । धेरै युवाहरु लागु औषधमा फसिरहेको बताउदै उहाँले कपिलवस्तु आइसकेपछि १ दर्जन बढि व्यक्ति लागु औषध मुद्धामा पक्राउ गरेको समेत जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पिपराको नवनिर्मित भान्छाघरको उद्घाटन गर्दै कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीले समुदायको सहयोगले प्रहरीलाई हौसला मिलेको बताउनुभयो । उहाँले भान्छाघर निर्माणमा सहयोग पु¥याउने वाणगंगा नगरपालिका, स्थानीय समुदाय र प्रहरीको श्रमदानलाई सम्मान गर्दै संस्थागत विकासमा टेवा पुर्याउने इलाका प्रहरी कार्यालय पिपरामा प्रमुख आयुष कुमार जोशीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
कोरोनाको विषम परिस्थितीमा पनि प्रहरी जनताको सेवा र शान्ति सुरक्षामा खटिरहेको छ । आम नागरिक र प्रहरीबीचको सु–सम्बन्धले नै समाजमा शान्ति सुरक्षा कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले वाणगंगा, बुद्धभूमि र शिवराज क्षेत्रमा रहेका खोलानालामा नदीजन्य पदार्थको चोरी निकासी बढेको गुनासो आइरहेकाले त्यसको नियन्त्रण गर्न पनि मातहतका प्रहरी इकाईलाई निर्देशन दिनुभएको छ ।
“जुनसुकै जतिबेला पनि समाजमा घट्ने लैङ्गिक हिंसा, झैझगडा, सामाजिक अपराध, लागु औषध नियन्त्रण, सामाजिक उत्थान जस्ता कार्यमा समुदायसंग प्रहरी हातेमालो गर्न तयार छौं,” प्रहरी प्रमुख अधिकारीले भन्नुभयो । “प्रहरी भनेका सुख दुखका साथी हुन्, हामी साथी बन्न चाहान्छौं, तपाई पनि बन्नुहोस” प्रहरी उपरिक्षक अधिकारीले स्पष्ट पार्नुभयो । उहाँले आम नागरिक पनि विना बर्दीको प्रहरीको भूमिका रहन सके समुदाय सही दिशामा अघि बढ्छ । हामी अनुशासित भयौं भने सवै कुरा सुधार गर्न सकिन्छ । प्रहरी यही समाजबाट आएको छ, समाजलाई सुधार गर्न सक्यौ भने हामी सवै ठिकठाक हुन्छौं ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका प्रवक्ता विष्णु प्रसाद पौडेलले नगरको शान्ति सुरक्षामा इलाका प्रहरी कार्यालयको सकृयता राम्रो रहेको बताउनुभयो । जनप्रतिनिधी, स्थानीय समुदाय र प्रहरीको हातेमालोले शान्ति सुरक्षा मजबुत हुन बताउदै वडा अध्यक्ष पौडेलले प्रहरी कार्यालयको पूर्वाधार विकासमा नगरबाट सहकार्य र सहयोग भइरहेको जानकारी दिनुभयो ।
अनुमानित ९ लाख लागतमा भान्साघर निर्माण गरिएको छ । कार्यालयको हाताभित्र बनाइएको उक्त भवनमा ५ लाख स्थानीय सहयोग र ४ लाख प्रहरीको श्रमदान र श्रोत रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष कुमार जोशीले बताउनुभयो । कार्यक्रममा निर्माणमा महत्वपूर्ण सहयोग गर्नुहुने प्रहरी नायव निरिक्षक टुकलाल खत्री, प्रहरी हवल्दार , जवान र स्थानीय समाजसेवी खड्क बहादुर ठकुरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष बालकुमारी पन्थ, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल, समाजसेवी काशिराम भट्टराई, डोलकराम घिमिरे, विरेन्द्र श्रेष्ठ, झविलाल खनाल, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया