चन्द्रकान्त न्यौपाने, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा विद्यालयमा पठनपाठन सुरु गर्ने र बन्द जारी नै राख्ने विषयमा मिश्रित प्रतिक्रिया आएका छन् । नगरका प्रतिनिधि र केही सरोकारवालाले कोरोना महामारी कायम रहेकाले विद्यालय खोलेर चुनौति लिन नहुने बताए भने सामुदायिक विद्यालय, नीजि विद्यालय, क्याम्पसका प्रतिनिधि, संचारकर्मी, विद्यार्थी र अभिभावकले कोरोनासंगै जुधेर स्वास्थ्य सावधानी अपनाई विद्यलयमा विस्तारै शैक्षिक गतिविधि सुरु गर्न सम्भव हुने बताएका हुन् ।
नेपाल शिक्षक महासंघले मंगलबार बाणगंगा नगरपालिकाको सभाहलमा आयोजना गरेको वर्तमान अवस्थामा शिक्षाका वैकल्पिक उपाय र चुनौति विषयक अन्तरक्रियामा बोल्ने अधिकांसले भने कोरोना महामारीका कारण विगत ६ महिनादेखि विद्यालयहरु बन्द हुँदा विद्यार्थीहरु मारमा परेको हुँदा अब नगरका सम्पूर्ण विद्यालयमा विस्तारै पठनपाठन सुरु गर्नु पर्ने बताए ।
कोरोनासंग अब नडराएर जुध्नु पर्ने भन्दै विद्यार्थी प्रिन्स बस्याल, अभिभावक पोष्टराज गौतम, पत्रकार चन्द्रकान्त न्यौपाने, मनोविमर्शकर्ता प्रकाश घिमिरे, लिटिल सटार बोर्डिङका प्रिन्सिपल सुन्दर पाण्डे, ज्ञानपुञ्जका प्रवन्ध निर्देशक रोमाकान्त घिमिरे, होराइजनका प्रिन्सिपल बासुदेव घिमिरे लगायतले सावधानी अपनाएर विद्यालय खुल्नु नै अहिलेको विकल्प भएको भन्दै यसको नेतृत्व बाणगंगा नगरपालिकाले लिनु पर्ने सुझाउनु भएको थियो ।
शिक्षाका वैकल्पिक उपायहरुको रुपमा आएका रेडियो, अनलाइन, भर्चुअल, टिभी आदिका कक्षाहरु जे जस्ता भए ठिकै भएको भन्दै अबको विकल्प भनेको रियल अर्थात् विद्यालयमै कक्षा संचालन नै रहेको उहाँहरुले बताउनु भयो । उहाँहरुले विद्यालयमा विद्यार्थी संख्या घटाएर, पाठ्यक्रम पनि कम गरी पढाउँदा कोरोनाको जोखिम नहुने बताउनु भएको थियो ।
नेपाल सरकारले बनाएका मापदण्ड पुरा गरी आंसिक अर्थात् जम्मा विद्यार्थी संख्याको ३० अथवा ५० प्रतिशत विद्यार्थीलाई विद्यालयमा सहभागी गराएर बाणगंगा नगरमा शैक्षिक गतिविधि गर्नु पर्नेमा उहाँहरुको जोड छ ।
अन्तरक्रियामा सहभागी सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष तेजप्रसाद आचार्य, बाणगंगा माविका प्रधानाध्यापक राम प्रसाद भण्डारी, जनता मावि पिपराका प्रधानाध्यापक, रमेश पन्थी, नेपाल शिक्षक महासंघका केन्द्रिय कोषाध्यक्ष विष्णु भण्डारी, सिद्धार्थ क्याम्पसका प्राचार्य खेमराज शर्मा लगायतका व्यक्तिहरुले अनलाइन कक्षा संगसंगै विद्यार्थीहरुलाई विहान, दिउसो र साँझ गरी बाँडेर कक्षा संचालन गर्दा उपयुक्त हुनेमा नगरपालिकाको ध्यानाकर्षण गराउनु भयो ।
केन्द्र, प्रदेश र स्थानीय सरकारको मुख ताकेर भन्दा नगरपालिकाले आफ्नै शैक्षिक नीति बनाएर विद्यालय संचालनको बातावरण बनाउन उहँँहरुले विशेष जोड दिनुभएको थियो । शिक्षक संगठनका जिल्ला अध्यक्षसमेत रहनु भएका रमेश पन्थीले विद्यालय संचालनको विकल्प नभएको भए पनि वैकल्पिक शिक्षाको रुपमा आएका उपायहरुलाई बन्द गर्न नहुने धारणा राख्नु भयो ।
विद्यालय संचालन गर्नु पर्ने भए अनिवार्य मास्क, सेनेटाइजर, साबुनपानी आदिको प्रबन्ध गरी सामाजिक दुरी सहित एक बेन्चमा २ जना या एक जना विद्यार्थीलाई बसालेर कक्षा संचालन गर्न सम्भव रहेको उहाँहरुकोे भनाई छ । नीजि विद्यालय संचालकले अहिले सबैभन्दा बढी मारमा शिक्षा क्षेत्र र त्यसमा पनि संस्थागत विद्यालय विद्यालय परेको बताएका थिए । अब पनि नगरमा पठनपाठनको वातावरण नआए विद्यालय बन्द गरेर अनसन वस्नुको विकल्प नभएको बताए ।
यता नगरपालिकाले भने कोरोनाको विचमा विद्यालय खोल्नु चुनौति पूर्ण हुने बताएको छ । नगरका शिक्षा खेलकुद तथा तथा युवा शाखा प्रमुख उपसचिव बाबुराम भट्राई, र शिक्षा शाखा अधिकृत खिम बहादुर जिसीले कोभिड महामारीको बीचमा वैकल्पिक शिक्षाको रुपमा चलाइएका विकल्पहरुले राम्रै सन्देश दिएको बताउनु भयो ।
अनलाइन, रेडियो तथा टिभी कक्षाहरु प्रभावकारी भएनन् भन्ने कुरामा आफू सहमत नभएको प्रष्टिकरण दिँदै यी माध्यमबाट विद्यार्थीले केही न केही सिकेको प्रमुख भट्टराईले बताउनु भयो । अन्र्तक्रियामा सहभागीले भनेका कुरा ठिक भए पनि कपिलवस्तु जिल्लाको हकमा त्यस्तो सहज स्थिति नभएको अहिलेको अवस्थामा विद्यालय खोल्नु जोखिम पर्ण नै भएको पूर्ण नै भएको उहाँको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले केन्द्र, प्रदेश सरकार र स्थानीय प्रशासनसंग बाझिने गरी नगरपालिकाले विद्यालय खोल्ने निर्णय गर्न नसक्ने बताउनु भयो । विद्यालय संचालक, शिक्षक, र अभिभावकहरु विद्यालय सुचारु हुनुपर्नेमा आतुर रहनु स्वभाविक रहेको भन्दै मुलुकको परिस्थिति र शिक्षा मन्त्रालयको निर्णय अनुसार अगाडी बढ्ने बताउनु भयो ।
नगर उपप्रमुख चक्र अर्यालले कोरोनालाई केही पनि होइन भन्ने अर्थमा बुझन नहुने बताउनु भयो । विद्यालय खोल्नु चुनौतिपूर्ण रहेको भन्दै सबैले चाहेमा नगरले निर्णय गर्नमा कुनै अप्ठ्यारो नभएको बताउँदै असहज परिस्थिति आउँदा हुने क्षतिको जिम्मेवारी कसले लिने भनी प्रश्न गर्नुभयो ।
नगरप्रमुख मंगल प्रसाद थारुले सरोकारवालाहरुले राखेका सुझाव ग्रहणयोग्य रहेको भन्दै त्यसलाई नगरको कार्यपालिका वैठकमा लग्ने बताउनु भयो । कपिलवस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको जिल्ला रहेको स्मरण गराउँदै विद्यालय खोलेर पठन पाठन सुचारु गर्नु भनेजस्तो सजिलो भने नभएको बताउनु भयो ।
यद्यपी नगरप्रमुख थारुले सुभावका आधारमा नगरले केही न केही ठोस निर्णय गर्ने प्रतिवद्धता जनाउनु भयो । कोरोनाको कारण जिल्लामा भोली रातिसम्म लकडाउन छ । स्थानीय प्रशासनले लक डाउन अवधि नथपे नगरले शिक्षाको विषयमा नयाँ निर्णय गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी सबैले नगरले कक्षा संचालनको बातावरण मिलाएर मुलुकमै सन्देश दिने गरी विद्यालयमा आंसिक पठनपाठनको बातावरण मिलाउनन संयुक्त सुझाव दिएका छन् ।
सिद्धार्थ सामाजिक विकास केन्द्र र बाणगंगा नगरको समन्वयमा आयोजना भएको कार्यक्रममा महासंघका धनु गाहाले स्वागत मन्तव्य राख्नु भएको थियो । महासंघका नगरअध्यक्ष अर्जुन शाहीको अध्यक्षता र सचिव टिकाराम घिमिरेको संचालनमा सम्पन्न कार्यक्रममा नगरभित्रका प्रतिनिधि सरोकारवालाको सहभागिता थियो ।
प्रतिक्रिया